राहुल गुप्ता, काठमाडौं — देशमा नयाँ सोच, नयाँ ऊर्जा र नयाँ राजनीतिक संस्कृतिको प्रतिज्ञासहित ‘समुन्नत नेपाल पार्टी’ले औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको घोषणा गरेको छ। पार्टीका सभापति सर्वेन्द्र खनालले ऐतिहासिक दिनका रूपमा वर्णन गर्दै राष्ट्रनिर्माणलाई केन्द्रमा राखेर अघि बढ्ने दृढ संकल्प व्यक्त गरे।
खानालले यो पार्टी केवल नयाँ राजनीतिक दल मात्र नभई “समुन्नत, स्वाभिमानी र सक्षम नेपाल” बनाउने पुस्ताको साझा सपना भएको बताए। उनले पार्टी गठनमा साथ, सुझाव र प्रेरणा दिने सबैप्रति आभार व्यक्त गर्दै विशेषगरी जुझारु युवा तथा जेन–जी पुस्ताले दिएको ऊर्जा अभियानको मुख्य आधार भएको उल्लेख गरे।
“सपना देख्ने मात्र पर्याप्त हुँदैन, त्यो सपनालाई साकार पार्ने जिम्मेवारी, श्रम, सीप र संगठित जागरण चाहिन्छ,” उनले भने, “अब आलोचना–केन्द्रित राजनीति होइन, निर्माण–केन्द्रित राजनीति गर्नुपर्छ।”
देशभित्र र विदेशमा रहेका सबै नेपालीलाई एकताको आह्वान गर्दै उनले देश उकास्न संगठित, जिम्मेवार र इमानदार प्रयास आवश्यक रहेको प्रष्ट पारे। “हामी थकित छैनौं, हराएका छैनौं—हामी उठेका छौँ। एक भएर देश बनाउने संकल्पका साथ अघि बढेका छौँ,” उनका शब्द थिए।
सभापति खनालले आफ्नो पद कुनै औपचारिक संरचना मात्र नभई नागरिकको सपना, आशा र विश्वासको प्रतिनिधि भएको बताए। “साँचो परिवर्तन नेतृत्वले होइन, परिवर्तनमा विश्वास गरेर अघि बढ्ने जनताले गर्छन्,” उनले जोड दिए।
समुन्नत नेपाल पार्टीले आत्मनिर्भरता, स्वाभिमान, कौशल विकास, युवा नेतृत्व र संगठित राष्ट्रिय जागरणलाई मुख्य एजेन्डाका रूपमा अघि सारेको छ। “अब हामी सबै राष्ट्र–सेवक हौँ, राष्ट्र–निर्माता हौँ, र हामी सबै मिलेर एउटा महान् नेपालका अभियन्ता बन्नेछौँ,” उनले घोषणा गरे।
सभापति खनालले आजको दिनलाई समुन्नत नेपाल निर्माणको ऐतिहासिक प्रारम्भ भनेर उल्लेख गर्दै अन्त्यमा भने, “आउनुहोस्, हातमा हात मिलाऔँ, मनमा विश्वास बोकौँ, र भोलिको पुस्ताले गर्वसँग भन्न सक्ने इतिहास बनाऔँ— ‘हामीले बालेको थियो समुन्नत नेपालको ज्योति।’”


























































