काठमाडौँ – संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जीत हो । दोस्रो जितसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।


ADVERTISEMENT


जीतका लागि २७१ रनको चुनौती पछ्याएको हङ्कङ ४०.५ ओभरमा १५१ रनमा समेटियो । उसका कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए । बलिङमा नेपालीका अप्रजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए ।


ADVERTISEMENT

# # #


यसअघि अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनाएको थियो । कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे । यस्तै दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे । हङ्कङका अभिमन्यु गणेशन र डेनियल नक्साले २/२ विकेट हात पारे । आजको खेलमा नेपालका कप्तान धामी प्लेयर अफ द म्याचसमेत चुनिए ।

नेपालले यसअघि पहिलो खेलमा नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो । सेमिफाइनलमा नेपालले शनिबार समूह ‘डी’को विजेता बनेको  मलेसियाविरुद्ध खेल्नेछ ।

१४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।