काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकले प्रत्यक्ष महसुस गर्नेगरी प्रदेश सरकारले काम गरिरहेको बताए ।
सोमबार मनहरी गाउँपालिका–४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोह समापन कार्यक्रममा उनले गरिबलाई गरिखाने बनाउने लक्ष्यका साथ प्रदेश सरकारले आयमुलक र सीपमुलक कामका लागि विपन्न नागरिकलाई बिना ब्याज ऋण दिने कार्यविधि बनाएर अघि बढेको बताएका हुन् । प्रदेश सरकारमार्फत एक हजार विपन्न परिवारका लागि घर निर्माण प्रक्रिया सुरु गरिएको उल्लेख गर्दै ‘गरिबलाई छाना, खाना र नाना’ अभियानका रूपमा २ लाख रुपैयाँसम्मको बिना ब्याज ऋण उपलब्ध गराउने तयारी भइरहेको बताए।
उनले भने, गणतन्त्र असफल भएको छैन् र सरकार गरिब तथा विपन्न वर्गको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित अघि बढेको छ । उनले ५० वर्षदेखि नबनेको पुल अहिले बनेर जनताले सहज रूपमा आवत–जावत गर्न पाएको उल्लेख गर्दै जनताकै उत्पादनले बजार पाउन थालेको पनि बताए।
मुख्यमन्त्री बानियाँले मनहरी र मकरी क्षेत्रका सडक तथा पुल निर्माणलाई थप गति दिने घोषणा गर्दै मल्टिहेड सेन्टर निर्माणका लागि ७२ करोड रुपैयाँ लगानी हुने जानकारी दिए। साथै मनहरी १, २, ३ र ४ नम्बर वडालाई १२ नम्बर वडासँग जोड्ने पुल निर्माण पनि अघि बढाइने उनको भनाइ थियो।
जनप्रतिनिधि बनाएर मुख्यमन्त्री बनाउने अवसर दिएकोमा स्थानीय नागरिकप्रति कृतज्ञता व्यक्त गर्दै उनले आफूले गृह क्षेत्रका आवश्यकतामा पहिलो प्राथमिकता दिने पनि स्पष्ट पारे।
हेर्टौडा–१२ जोड्ने सडक चाँडोभन्दा चाँडो पिच गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले स्थानियलाई प्रत्यक्ष आग्रह गरे, “यदि तपाईँहरू यस पिच सडकमा हिँड्न पाउनुभएन भने मलाई फट्या भन्नुहोस्, गाउँमा आउन नदिनुहोस्। म जे बोल्छु, गरेर देखाउँछु—बोली र व्यवहारमा फरक पार्दिन।”


























































