काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाइ २०२ रनको चुनौती दिएको छ । पोखराका ओपनर अदम रसिंग्टनले ५५ बलमै शतक प्रहार गरेपछि पोखराले कर्णालीलाई विशाल चुनौती दिएको हो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएको हो । पोखरालाई विशाल योगफलतर्फ पुर्याउने क्रममा रसिंग्टनले शानदार ब्याटिङ गरे ।
एनपीएलको दोस्रो संस्करणमा शतक बनाउने दोस्रो खेलाडी बनेका रसिंग्टनले ५८ बलमा ११ चौका र ७ छक्का प्रहार गर्दै नटआउट १०८ रन बनाए । यस्तै जासन रोयले आफ्नो डेब्यू खेलमै ४६ रनको योगदान दिए । सोक्रममा उनले ३४ बलमा २ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल भुर्तेल १८ रनमा आउट हुँदा धनञ्जय लक्षणले ११ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै नटआउट २३ रन जोडे ।
यससँगै एनपीएलको इतिहासमै दोस्रो पटक कुनै पनि टोलीले २ सयमाथिको चुनौती दिएको हो । यसअघि विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो ।
बलिङतर्फ कर्णालीका नन्द्यन यादव र मार्क वाटले समान १–१ विकेट हात पारे । अन्य बलर भने निरीह भए ।


























































