धरान (सुनसरी) – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले देशभरका अस्पतालको प्रत्यक्ष अवलोकनमार्फत स्वास्थ्य सेवा, औषधि आपूर्ति, बीमा र सार्वजनिक खरिद प्रणालीमा देखिएका समस्या पहिचान गरी त्यसको सुधार गरिने बताएकी छन् ।


ADVERTISEMENT


धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज निरीक्षण गर्दै डा गौतमले स्वास्थ्य क्षेत्रमा विभिन्न सुधार आवश्यकताबारे आफूले निरन्तर सुझाव र रायसल्लाहरू प्राप्त गर्दै आएको उल्लेख गर्दै ती विषयलाई प्राथमिकताका आधारमा कार्यान्वयन गरिने बताइन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, “मानसिक स्वास्थ्य, श्रमिक लक्षित कार्यक्रम, औषधि खरिद, मेडिकल ल्याब तथा सार्वजनिक खरिद प्रक्रियामा समग्र सुधार अपरिहार्य छ ।” डा गौतमका अनुसार औषधि खरिददेखि वितरण, बीमा प्रणाली, प्रयोगशाला सेवा तथा सार्वजनिक खरिद सबै क्षेत्रमा प्रणालीगत परिवर्तन आवश्यक देखिएको छ । अस्पतालका स्वास्थ्य सेवामा चुनौती छन् । ती समस्याको मूल कारण बुझेर सुधारतर्फ लैजानु मेरो निरन्तर प्रयास छ ।

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका पीर मर्का, सेवा सञ्चालनका कठिनाइ तथा व्यवस्थापनसम्बन्धी गुनासा प्रत्यक्ष सुन्न र बुझ्नकै लागि धरानस्थित बिपी प्रतिष्ठानमा आएको मन्त्री डा गौतमको भनाइ छ । उनको भनाई छ, “जेनजी आन्दोलनपछि बनेको सरकारले भ्रष्टाचारमुक्त प्रणाली निर्माण, पारदर्शी शासन र स्वास्थ्यसहित सम्पूर्ण सेवा क्षेत्रलाई व्यवस्थित बनाउनु नै प्रमुख लक्ष्य लिएको छ ।”

काठमाडौँ, लुम्बिनीलगायतका सङ्घीय अस्पतालहरूको अवस्थाबारे निरन्तर निरीक्षण गर्दै सेवा प्रवाहको गुणस्तर, पर्खाइ समय, क्लिनिक सञ्चालन र सर्वसाधारणले भोग्दै आएको सहजता असहजतासहितका समस्याहरूलाई नजिकबाट अध्ययन गरिरहेको उनले जानकारी दिइन् । “अस्पतालबाट जनताले अनावश्यक दुःख नपाओस्, पर्खाइ समय कम होस्, सेवा सहज र व्यवस्थित होस् भन्ने उद्देश्यले निरीक्षणमा निस्किएको हुँ,” उनले भनिन् ।

मन्त्री गौतमले छिट्टै बस्न लागेको बिपी प्रतिष्ठानको सिनेट बैठकका तयारीका विषयमा समेत प्रत्यक्ष जानकारी आवश्यक भएकाले आफू निरीक्षणमा आएको बताउँदै आफ्नै आँखाले वास्तविक अवस्था हेरेपछि निर्णय गर्नु सजिलो हुने उल्लेख गरिन । रासस