काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले हराएको छ ।


ADVERTISEMENT


बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो । जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


लुम्बिनीको जितका लागि ओपनर डार्सी सर्टले सानदार ब्याटिङ गरे । सोक्रममा उनले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५७ रन बनाए । यस्तै निरोशन डिक्वेल्लाले २३ बलमा २ चौका र १ छक्काको मदतमा २९ नटआउट रन जोडे भने सन्दीप जोराले २४ रनको योगदान दिए । यस्तै दिलीप नाथ १६ र सुमित महर्जन १० रनमा आउट भए ।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने र सुवास भण्डारीले समान २–२ विकेट हात पारे भने बासिर अहमदका नाममा १ विकेट रह्यो ।

यसअघि विराटनगरका लागि मध्यम स्कोर बनाउने क्रममा लोकश बमले सर्वाधिक ३५ रन बनाए । सोक्रममा उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

यस्तै बसिर अहमदले १९ बलमा १ चौका र १ छक्काको मदतमा २८ रन बनाउँदा साम हिजलेटले २७ रन जोडे भने फाफ डु प्लेसिसले १२, प्रतिश जिशीले ११ तथा मर्चेन्ट डी लांगेले नटआउट १० रन जोडे ।

बलिङतर्फ लुम्बिनीका शेर मल्लले सर्वाधिक ४ विकेट लिए । सोक्रममा उनले २५ रन मात्रै खर्चिए । यस्तै जेजे स्मिथ, अभिषेश गौतम र रुबेन ट्रम्पलमेनले समान १–१ विकेट हात पारे ।

आजको जितसँगै लुम्बिनीले एनपीएलको प्लेअफ पुग्ने सम्भावनालाई जीवितै राखेको छ भने विराटनगरले प्लेअफमा पुग्न अझै एक जित पर्खिनुपर्ने छ । एनपीएलमा भोलि पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज् तथा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।