मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले “गाउँ–गाउँमा वडा कार्यालय बन्नु गणतन्त्रको प्रत्यक्ष उपलब्धि रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार मकवानपुरको थाहा नगरपालिका वडा नं. ७ मा निर्मित नयाँ वडा कार्यालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताको पहुँचमा सरकारलाई पुर्‍याएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले वडा कार्यालयलाई “आम जनताको घर” को रूपमा परिभाषित गर्दै कार्यालयको भवन जति सुन्दर र मजबुत बन्दै गएको छ, त्यसैगरी अब आम नागरिकको घर पनि राम्रो बनाउन प्रदेश सरकार र स्थानीय सरकारबीच सह–लगानी र सहकार्यका कार्यक्रम अघि बढाउन आफूहरू तयार रहेको बताए।

यस्तै, थाहा नगरपालिकाको क्षमता र सम्भावनालाई विशेष रूपमा उल्लेख गर्दै उनले कृषि र पर्यटनलाई प्राथमिकता दिएर प्रदेश सरकारले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे। उनले प्रदेशकै पर्यटन विस्तारमा थाहा नगर महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गर्दै भने, “इन्द्रसरोबरको कुलेखानी क्षेत्र र थाहा नगरलाई जोडेर बागमती प्रदेशकै पर्यापर्यटनको ठूलो योजना ल्याउँदैछौँ ।”

गणतन्त्र र संघीयताबारे विभिन्न भ्रम फैलाइएका प्रसंगमा मुख्यमन्त्री बानियाँले सरकार बदल्न सक्ने जनताको शक्तिलाई नै गणतन्त्रको मूल सार रहेको बताए । उनले भने, “व्यवस्थामाथि भ्रामक प्रचार भइरहे पनि केही कमजोरीहरू हाम्रो पनि छन्, तर यो व्यवस्थाले राम्रो नलागे नेता नै बदल्न सकिने सर्वश्रेष्ठ अधिकार जनतामा दिएको छ ।”

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले भवनले पूर्णता पाएसँगै सेवाग्राहीले बढी सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन्। थाहा नगरप्रमुख विष्णु बिष्टले जनप्रतिनिधिहरूको अथक खटाइका कारण काम समयमै सम्पन्न भएको उल्लेख गर्दै सबैप्रति धन्यवाद ज्ञापन गरे।

मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, वडा नं. ८ का अध्यक्ष हेमकुमार थिङ, नेपाली काँग्रेस बागमती प्रदेश सदस्य पुरुषोत्तम ठकुरी, वाईसीएल मकवानपुर अध्यक्ष मुक्ती लामा लगायतका अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए।