काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक मूल्य, नैतिकता र विचारको राजनीतिलाई पुनर्जीवित गर्न पुस्तकमार्फत हुने बौद्धिक बहसको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। कांग्रेसका महामन्त्री गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बीपी र आजका नेता तथा लिलिपुटका लघुमानव’ पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले लोकतन्त्र केवल निर्वाचन जित्ने वा सरकार बनाउने विषय नभई समाजलाई सही दिशा दिने मूल्य र संस्कृतिसँग जोडिएको व्यवस्था भएको बताए।


ADVERTISEMENT


उनले बुद्धले देखाएको शान्ति, करुणा र सहिष्णुताको मार्ग तथा जननायक बीपी कोइरालाले स्थापित गरेको लोकतान्त्रिक समाजवाद, राष्ट्रियता र नागरिक स्वतन्त्रताको आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन्। बदलिँदो राजनीतिक परिवेशमा ती आदर्शलाई व्यवहारमा उतार्नु नै सबै राजनीतिक दल र नेतृत्वको साझा दायित्व भएको उनको भनाइ छ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले अहिले समाजमा राजनीति, नेतृत्व र लोकतान्त्रिक संस्कृतिबारे गम्भीर बहस आवश्यक रहेको उल्लेख गर्दै यस्ता पुस्तकले समाजलाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्ने बताएका छन्। उनले विचारमूलक कृतिले केवल राजनीतिक नेतृत्वलाई मात्र होइन, नयाँ पुस्तालाई पनि लोकतन्त्र, सुशासन र उत्तरदायी नेतृत्वबारे सोच्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्री बानियाँले नयाँ पुस्तालाई अध्ययन, अनुसन्धान र वैचारिक राजनीतिप्रति आकर्षित गर्न यस्ता कृतिले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले लेखकले उठाएका विषयवस्तुले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न र लोकतान्त्रिक मूल्यप्रति थप जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति पुष्पा भुसाल, उपसभापति विश्वप्रकाश शर्मा, पुस्तकका लेखक तथा महामन्त्री गुरुराज घिमिरे, कांग्रेसका केन्द्रीय नेता–कार्यकर्ता, बुद्धिजीवी, शिक्षाविद्, लेखक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

मुख्यमन्त्री बानियाँले गुरुराज घिमिरेलाई समसामयिक राजनीति, लोकतान्त्रिक मूल्य र नेतृत्वको भूमिकामाथि गम्भीर बहस सुरु गराउने कृति ल्याएकोमा बधाई दिँदै यस्ता पुस्तकले समाजमा सकारात्मक वैचारिक बहसको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले बुद्धको दर्शन, बीपीको लोकतान्त्रिक आदर्श र नयाँ पुस्ताको सिर्जनशील सोचलाई एकसाथ अघि बढाउन सके मात्रै लोकतन्त्र थप बलियो, उत्तरदायी र जनमुखी बन्ने विश्वास व्यक्त गरेका छन्।