काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार आफ्नो कर्तव्य पूर्ण जिम्मेवारी र सक्रियताका साथ पूरा गर्न लागिपरेको बताएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको निर्वाचनसम्बन्धी बहुपक्षीय छलफलका क्रममा प्रधानमन्त्री कार्कीले अन्तरिम कालको व्यवस्थापनका लागि वर्तमान सरकार गठन भएकाले तोकिएको समयमा नै निर्वाचन गर्ने कर्तव्य पूर्ण जिम्मेवारी र सक्रियताका साथ पूरा गर्न लागिपरेको बताएका हुन् ।
उनले तोकिएको समयमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्दै सवैले सकारात्मक सहयोग गर्न आग्रह गरे । प्रधानमन्त्री कार्कीले निर्वाचनका सम्बन्धमा जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर छलफल गर्दै आशंकाहरु निवारण गरिएको जानकारी दिए । उनले अब चुनाव हुन्छ कि हुँदैन भन्दा पनि कसरी चुनाव सफल पार्ने भन्नेमा सवै लाग्नुपर्ने बताए ।
सबै पक्षहरु एकजुट भए निर्वाचनमा कसैले खलल पार्न नसक्ने उनको भनाइ छ । त्यस्तै उनले जेनजी पनि पहिलाभन्दा धेरै फरक भएको र अझै पनि राजनीतिक व्यवहार र वातावरण दिन, शिक्षा दिन सरकार तयार रहेको बताए ।
छलफलपछि सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनको सुरक्षादेखि अहिलेसम्म भएका सवै तयारीका बारेमा छलफल भएको बताए । उनले दलहरु पनि निर्वाचनमा जान तयार रहेको अवस्थामा थप आशंका नगर्न आग्रह गरे ।
छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले भने ढूक्क भएर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा सहभागी कांग्रेस नेतृ पुष्पा भुसालले निर्वाचनमा कुनै पनि प्रकारणको थ्रेटलाई स्वीकार गर्न नसकिने भन्दै सरकारले भयरहित निर्वाचन गराउन ध्यान केन्द्रीत गर्नुपर्ने बताइन् । उनले वर्तमान सरकारलाई निर्वाचन नगराउने छुट नभएको उल्लेख गरिन् ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले छलफलमा निर्वाचन सुरक्षा र निर्वाचन आयोगका साथै सरकारको तयारीका बारेका जानकारी लिने काम भएको बताए । उनले वर्तमान सरकार चुनावी भएकाले चुनावमा नै केन्द्रीत हुन सुझाव दिएको उल्लेख गरे ।
त्यस्तै रास्वपाका नेता शिशिर खनालले आगामी निर्वाचनलाइ सफल पार्न सहयोग गर्ने जानकारी गराए ।
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका सन्दर्भमा सुरक्षाको अवस्था र तयारीका विषयमा जानकारी गराएका थिए भने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले पूर्ण रूपमा निर्वाचन गराउन तयारीका साथ अघि बढिरहेको र यसबीचमा धेरै उल्लेखनीय सफलता प्राप्त गरिसकेको बताएका थिए ।


























































