काठमाडौँ – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीलाई सशक्त रुपमा अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएकी छन् ।
एमाले महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष शाक्यले पार्टीको वर्तमान नेतृत्वका कारण कम्युनिष्ट आन्दोनलका साथै पार्टीको विचार कमजोर हुँदै गएको भन्दै अव पार्टीलाई सशक्त रुपमा अघि बढाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएकी हुन् ।
नेतृत्वमा बसेकाले आफ्नो व्यवहार र शैलीमा रुपान्तरण गर्नुपर्नेमा अहिलेसम्म त्यस्तोे अनुभव गर्न नपाएको उनले बताइन् । उनले अहिलको नेतृत्वसंग परिर्वतनको सोच नै नभएकाले मुलुकलाई समृद्धिको बाटोतर्फ अघि लैजान नसक्ने भएकाले महाधिवेशनमार्फत ईश्वर पोखरेलको नेतृत्वमा पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउनुपर्ने धारणा राखिन् । विचारका हिसाबले, व्यवहारिक हिसाबले अब ईश्वर पोखरेललाई नै अघि सार्नुको विकल्प नभएको उनको भनाइ छ ।
त्यस्तै शाक्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केपी ओलीले गरेको टिप्पणी आपत्तिजनक भएको बताइन् । एउटा पूर्व राष्ट्रपतिलाई धामी, झाँक्री भन्दै अपमान गरेको भन्दै उनले महिलालाइ सम्मान गर्न नसक्ने नेतृत्व पार्टीलाई आवश्यक नरहेको जिकिर गरिन् ।
त्यस्तै एमाले नेतृहरु विन्दा पाण्डे, उषाकिरण तिम्सेना, शर्मिला कार्की लगायतले पार्टीमा सम्मानजनक रुपमा नेतृत्व हस्तान्तरण हुनुपर्ने भन्दै सहमति नभए लोकतान्त्रिक पद्दति अनुसार नेतृत्व चयन गर्नुपर्ने जनाएका थिए । साथै उनीहरुले महाधिवेशनका लागि प्रतिनिधि चयन भइसकेको अवस्थामा विधान संशोधन हुनैनसक्नले समेत धारणा राखेका थिए ।



























































