काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले हृदयमा आत्मीयता राखेर, कानुनअनुसार विश्वविद्यालय र क्याम्पसहरूले आफ्नो भूमिकामा जिम्मेवार बन्नुपर्ने बताए।
बागमती प्रदेश विश्वविद्यालय र पाँच वटा आङ्गिक क्याम्पसबीच औपचारिक सम्झौता कार्यक्रममा मुख्यमन्त्री बानियाँ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
सम्झौता समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले भने, “मुटु माथि ढुंगा राख्ने होइन, हृदयभित्र मुटु राख्ने आत्मीयता बढाउनुपर्छ,” । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत अध्ययनरत विद्यार्थी तथा क्याम्पसहरू बागमती प्रदेश विश्वविद्यालयसँग समायोजन हुने प्रक्रियाप्रति स्पष्ट भएर अगाडि बढ्नुपर्ने टिप्पणी गरे।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश विश्वविद्यालयले अब छरपस्ट उत्पादन होइन, गुणस्तरीय र दक्ष विद्यार्थी उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए। बागमती प्रदेशमा एआईको जमानामा, स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा नयाँ प्रविधिको प्रयोगसहित प्रदेशले द्रुत विकास गर्न चाहिरहेको उनले बताए।
“गरिखाने शिक्षा आवश्यक छ, मागी खाने वा बेरोजगार उत्पादन गर्ने शिक्षा होइन,” उनले भने । विभिन्न सिप, तालिम र प्रविधिसँग जोडिएको शिक्षामार्फत युवालाई आत्मनिर्भरतातर्फ अभिमुख गरिनुपर्ने उनको भनाइ थियो।
प्रदेश सरकार र विश्वविद्यालय एउटै परिवारका रूपमा अगाडि बढ्ने भन्दै मुख्यमन्त्री बानियाँले शिक्षा नीतिको कार्यान्वयनमा निरन्तर निगरानी र सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे। उनले विद्यार्थीको जीवनमै सकारात्मक परिवर्तन ल्याउने शिक्षा प्रणाली निर्माण गर्न सबैलाई साथ दिन आग्रह गरे।



























































