काठमाडौं– नुवाकोटको ढाडेखोला सडक पुल निर्माणको शिलान्यास तथा सुपारी खोल्चीमा बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ जोड्ने मोटरेबल पुलको उद्घाटन सम्पन्न भएको छ ।


ADVERTISEMENT


कार्यक्रम बागमती प्रदेशका सभापति तथा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले गणतन्त्र स्थापनापछि गाउँ–गाउँसम्म विकास पुगेको उल्लेख गरे । गणतन्त्रकै कारण ग्रामीण भेगमा पहुँच मार्ग, सडक र पुल निर्माण सम्भव भएको उनले बताए । गरिब तथा विपन्न वर्गको आयआर्जन बढाउने, पीडितलाई न्याय दिने र गाउँबासीलाई सदरमुकामसम्म सहज पहुँच पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले विपन्न वर्गका विद्यार्थीलाई डाक्टर बनाउने योजनामा समेत काम गरिरहेको बताए । स्थानीय उत्पादनलाई व्यवस्थित गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गर्दै केन्द्र सरकारबाट थप बजेटको व्यवस्था भएमा अझ प्रभावकारी रूपमा कार्यक्रम अघि बढाइने उनले बताए ।

स्थानीय स्तरमा उत्पादन हुने फलफूल तथा तरकारीलाई उचित बजार मूल्य दिलाउन आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको उल्लेख गर्दै उनले कोल्ड स्टोर मार्फत भण्डारण गरी बिक्री गर्न सकिए किसानले राम्रो मूल्य पाउने बताए । यसका लागि प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गर्दै सहलगानीमा कार्यक्रम सञ्चालन गर्न तयार रहेको उनले स्पष्ट पारे ।

मुख्यमन्त्री बानियाँले स्थानीय तहले जनतालाई सीप र तालिम उपलब्ध गराउन तथा नयाँ प्रविधि हस्तान्तरण गर्न आग्रह गरे । साथै साना हाते ट्र्याक्टर, मल र बीउ समयमै उपलब्ध गराउन केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

राजनीतिबारे बोल्दै उनले राजनीति जनताको लागि र न्याय दिनका लागि गरिने कार्य भएको बताए । विगतमा धेरै अन्याय भएको उल्लेख गर्दै नयाँ पुस्ता प्रविधि, ज्ञान र सीपसँग जोडिएर अघि बढ्नुपर्नेमा जोड दिए । हिजोको पुस्ताले गरेको संघर्षलाई नयाँ पुस्ताले व्यवस्थित रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

उनले निर्वाचित जनप्रतिनिधिले जुनसुकै पार्टीबाट निर्वाचित भए पनि सबै नागरिकलाई समान व्यवहार गर्दै काम गर्नुपर्ने धारणा राखे । जनताको प्रतिनिधि भएपछि सबैलाई हेर्ने दृष्टिकोण समान हुनुपर्ने उनले बताए ।