काठमाडौं – बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियो गणतन्त्र, लोकतन्त्र र गरिबमुखी शासन व्यवस्थाको महत्वपूर्ण आधार भएको बताएका छन्।
चितवनको सौराहमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १९औँ साधारणसभाको प्रमुख अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री बानियाँले सामुदायिक रेडियोले गाउँ–गाउँमा सूचना प्रवाह गर्दै लोकतन्त्र स्थापना र सुदृढीकरणमा ठूलो भूमिका खेलेको उल्लेख गरे।
उनले सामुदायिक रेडियो भनेको समुदायसँग मिलेर संस्था दर्ता गरी प्रशासनमार्फत सूचना प्रवाह गर्ने माध्यम भएको बताउँदै सूचना अधिकार, मानवअधिकार र गणतन्त्र स्थापनाका लागि यसले निरन्तर योगदान दिँदै आएको बताए।
मुख्यमन्त्री बानियाँका अनुसार विश्वमा करिब १२८ वर्षअघि रेडियोको स्थापना भएको हो भने नेपालमा २००७ सालमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो। हाल देशभर दुईदेखि तीन सयवटा सामुदायिक रेडियो सञ्चालनमा रहेका छन्, जसले करिब तीन हजार जनालाई रोजगारी प्रदान गरिरहेको उनले जानकारी दिए।
लोकतन्त्रमा सामुदायिक रेडियोको भूमिका उल्लेखनीय रहेको भन्दै उनले गाउँबस्तीमा सूचना पुर्याउने र गणतन्त्र स्थापना गर्न सामुदायिक रेडियोले महत्वपूर्ण योगदान दिएको बताए। त्यसैले सामुदायिक रेडियोलाई संरक्षण र दिगो बनाउनु संघ, प्रदेश र स्थानीय सरकारको साझा कर्तव्य भएको उनको भनाइ थियो। उनले स्थानीय र प्रदेश सरकारबीच सहअस्तित्व कायम गर्दै सामुदायिक रेडियोलाई बचाउन आग्रह गरे।
मुख्यमन्त्री बानियाँले सामुदायिक रेडियोले सत्य, तथ्य र यथार्थमा आधारित भएर पार्टीभन्दा माथि उठी काम गर्नुपर्नेमा जोड दिए। उनले कुनै एक पार्टीको मात्र प्रचार गरेर सामुदायिक रेडियो सञ्चालन हुन नसक्ने स्पष्ट पार्दै निष्पक्ष, सत्य र पारदर्शी पत्रकारिता आवश्यक रहेको बताए। समयअनुसार परिमार्जन गर्दै सामुदायिक रेडियो अघि बढ्नुपर्ने उनको भनाइ थियो।































































