काठमाडौं– बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा चन्द्रागिरि नगरपालिका द्वारा आयोजित बालश्रममुक्त नगरपालिका घोषणा समारोह सम्पन्न भएको छ।


ADVERTISEMENT


समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले बालश्रममुक्त घोषणा कागजमा मात्र सीमित नहुने र व्यवहारमा समेत कार्यान्वयन हुने विश्वास व्यक्त गरे। उनले काठमाडौं जिल्लाका ११ वटै नगरपालिका बालश्रममुक्त घोषणा हुनु सकारात्मक उपलब्धि भएको भन्दै मेयर, उपमेयर तथा सम्पूर्ण वडाध्यक्षहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले सामाजिक सञ्जालमा मात्र कुरा गर्ने होइन, कर्म गर्ने र निर्णय गरेर व्यवस्थित रूपमा कार्यान्वयन गर्ने जनप्रतिनिधिको उदाहरण चन्द्रागिरि नगरपालिका भएको बताए। भ्रम फैलाएर जनप्रतिनिधि बन्न नसकिने उल्लेख गर्दै वर्तमान व्यवस्थाभित्र जनताको अवस्थामा उल्लेखनीय परिवर्तन आएको र ती उपलब्धिलाई अझ व्यवस्थित गर्न आवश्यक रहेको बताए।

उनले देश र जनताका लागि लामो संघर्ष गर्दै विभिन्न कठिन परिस्थितिमा मुलुकलाई अघि बढाइएको स्मरण गरे। साथै, जेन्जी पुस्ताको नाममा समाजमा देखिएका अकल्पनीय गतिविधिप्रति चिन्ता व्यक्त गर्दै इतिहास र संस्कृतिको महत्व पुस्तौँसम्म आवश्यक रहने बताए। गणतन्त्र भनेको जनतालाई सुन्दर सपनासहित यथार्थमा बदल्ने व्यवस्था भएको उनको भनाइ थियो। चन्द्रागिरि नगरपालिकाले कुरा मात्र होइन, बोली र व्यवहार दुवै पूरा गरेको भन्दै उनले प्रशंसा गरे।

मुख्यमन्त्री बानियाँले चन्द्रागिरिलाई भविष्यमा भ्रष्टाचारमुक्त नगरपालिका घोषणा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। गणतन्त्रमा भ्रष्टाचार भएको भन्ने आरोपहरूबीच पनि गाउँबस्तीका संस्कार, संस्कृति, धिमेबाजा, भेषभूषा जस्ता मौलिक परम्परा जोगाउन नगरपालिकाहरूले निरन्तर प्रयास गरिरहेको बताए।

उनले बागमती प्रदेश सरकारले गरिबलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न तालिम, नयाँ प्रविधि र बिना ब्याज ऋण दिने नयाँ नीति ल्याएको जानकारी दिए। प्रदेश सरकारले ११९ वटै पालिकासँग समन्वय गरेर काम गर्ने तयारीमा रहेको पनि उनले स्पष्ट पारे।

अन्त्यमा उनले बालबालिकालाई श्रम होइन संस्कार सिकाउनुपर्ने उल्लेख गर्दै घरमा गरिने सामान्य काम संस्कार भएको र त्यसलाई मजदुरी भन्न नमिल्ने बताए। तर बालबालिकाको उमेरअनुसार गाह्रो काम लगाउन नहुनेमा जोड दिए।