काठमाडौं – रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिए । उनले बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या १२ पुगेको बताए ।
सीडीओ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।
आज बिहान काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।



























































