हेटौंडा -अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्।


ADVERTISEMENT


कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले अधिकारको दुरुपयोग भए अनुसन्धान गर्ने संवैधानिक निकायका रूपमा अख्तियार आयोग स्थापना गरिएको उल्लेख गरे। उनले आयोगको नारा ‘सुशासन र समृद्धि नागरिकको अधिकार, भ्रष्टाचार नियन्त्रणमा सबै जिम्मेवार’ लाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए।


ADVERTISEMENT

# # #


“भ्रष्टाचार नियन्त्रण भन्ने शब्दले अन्ततः उन्मूलनतर्फ लैजानुपर्छ भन्ने सन्देश दिन्छ,” उनले भने, “केवल नारामा होइन, व्यवहारमै इमानदारीता देखिनुपर्छ।” शासन सञ्चालन गर्ने राजनीतिक नेतृत्व र प्रशासन सञ्चालन गर्ने निजामती कर्मचारी मिलेर भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यवहारमै लागू गर्नुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री बानियाँले अख्तियारमा धेरै उजुरी आउने गरेको उल्लेख गर्दै त्यसको रोकथामका लागि प्रदेश सरकार थप जवाफदेही र उत्तरदायी हुनुपर्ने बताए। “हामीले नेपाली जनताको करबाट सेवा–सुविधा लिएका छौँ, त्यसैले जनताप्रति निष्ठावान सरकार बन्न सक्नुपर्छ,” उनले भने।

उनले कानुन र नियम विपरीत काम गरेर जनताको नाममा सेवा–सुविधा लिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउँदै नियमविरुद्ध काम गर्ने जो–कोहीलाई अनुसन्धान गर्ने जिम्मेवारी अख्तियारको रहेको स्पष्ट पारे।

लोकतन्त्रमा जनता नै सर्वोच्च शक्ति भएको उल्लेख गर्दै उनले जनताको पक्षमा काम गर्नु नै सरकारको मूल धर्म र नैतिक दायित्व भएको बताए। सबै काम जनतालाई केन्द्रमा राखेर गर्नुपर्नेमा उनले जोड दिए।