हेटौँडा – ईन्द्रबहादुर बानियाँले सामाजिक सञ्जालको ‘गुगोल’भन्दा जनताको मनभित्रको ‘भूगोल’ बुझेर राजनीति गर्न युवालाई आग्रह गरेका छन्। नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका उनले नेपाली कांग्रेस युवा परिचालन समिति बागमती प्रदेशद्वारा आयोजित बृहत् युवा भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
मुख्यमन्त्री बानियाँले फेसबुक–गुगलजस्ता माध्यममा फैलाइने भ्रमका पछाडि नलागी गाउँ–टोलमै पुगेर जनताको आवश्यकता, समस्या र अपेक्षा बुझ्नुपर्ने बताए। “गुगोल होइन, जनताको मनभित्रको भुगोल बुझ्न जरुरी छ,” उनले भने, “जनताको विश्वास र यथार्थका आधारमा अघि बढ्नुपर्छ।”
उनले नेपाली कांग्रेस लोकतन्त्र र प्रजातन्त्रका मूल्यका लागि संघर्षरत पार्टी भएको उल्लेख गर्दै माओवादी विद्रोहदेखि राजनीतिक परिवर्तनका विभिन्न चरणमा कांग्रेस जनताकै बीचमा रहेर लड्दै आएको दाबी गरे। सामाजिक सञ्जालमा गरिने प्रचारभन्दा पनि जनताको पक्षमा गरिने कामले विश्वास जित्ने उनको भनाइ थियो।
कांग्रेसले अन्याय र अत्याचारविरुद्ध सधैं संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एकताबद्ध भएर जनतामाझ केन्द्रित राजनीति गर्नुपर्ने बताए। “हामी धर्म, जात वा राजाको नाममा राजनीति गर्ने पार्टी होइनौं,” उनले स्पष्ट पारे।
इतिहास स्मरण गर्दै उनले २००७ सालको आन्दोलनमा कांग्रेसले राणा शासन अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरे। जनताले दिएको मतप्रति आत्मसमिक्षा गर्दै विगतका कमजोरी सुधार्न तयार रहेको पनि उनले बताए।
मुख्यमन्त्री बानियाँले अबको आवश्यकता सुशासन, भ्रष्टाचारमुक्त शासन र व्यवस्थापन सुधार भएको उल्लेख गर्दै नयाँ पुस्ताले खोजेको पारदर्शी र उत्तरदायी शासन दिन कांग्रेस प्रतिबद्ध रहेको दाबी गरे। “कांग्रेस मानवताको पार्टी हो, जनतासँग जोडिएको पार्टी हो,” उनले भने, “जनताको विश्वासमा कुनै घात हुने छैन, घोषणापत्रमा गरेका प्रतिबद्धता पूरा गर्छौं।”


























































