काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषयलाई कार्यान्वयन गरेरै छाड्ने बताएका छन् ।
सोमबार चूनावी घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने लगाएतका प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषयलाई कार्यान्वयन गरेरै छाड्ने बताएका हुन् ।
अहिले देखिएका राष्ट्रिय समस्यारुलाई कांग्रेसले स्पष्ट रुपमा उजागर गरेको भन्दै समस्याको समाधान पनि कांग्रेसले नै गर्ने उनले बताए । पौडेलले रोजगारी सिर्जना, प्रशासनिक व्यवहारलाई सरलीकृत गर्ने लगाएतका बिषयमा आवश्यक कानून निर्माण गर्न प्रभावकारीता बढाउने धारणा राखे ।
पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा पनि सबैलाई स्वास्थ्य बीमामा आबद्धता सुनिश्चित गर्ने, क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कुल बनाउने, ऐतिहासिक क्षेत्रलाई खुला सङ्ग्रहालय तथा पर्यटकीय गन्तव्यका रूपमा बिकास गर्ने लगाएत उल्लेख गरेका छन् ।


























































