राजविराज (सप्तरी) – अगामी निर्वाचनलाई लक्षित गरेर अत्यन्तै दुर्गम क्षेत्र मानिएका सप्तरीको गोबरगढामा सुरक्षा सतर्कता बढाइएको छ ।
कोशी नदीको बीचमा अवस्थित रहेको सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढा गाउँमा सुरक्षा सतर्कता बढाइएको हो । अतिसंवेदनशीलको सूचीमा रहेको यो ठाउँमा सुरक्षाकर्मी बढाएको प्रहरीले जनाएको छ ।
राजविराजस्थित बरख गणका नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीको समन्वयमा संयुक्त गस्ती बढाएको गणका प्रमुख सैनानी शोभितबहादुर चन्दले जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाको गोबरगाढामा डुङ्गा चढेर कोशी तर्दै संयुक्त सुरक्षाकर्मीको टोलीले गस्ती गर्दै आएको छ ।
जनविश्वासमा अभिवृद्धि गर्ने तथा आसन्न निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यका साथ समन्वयात्मक र सुरक्षात्मक गतिविधिहरू निरन्तर रूपमा अघि बढाइरहेको बरख गणले जनाएको छ ।
यस प्रकारको सुरक्षात्मक पहलले निर्वाचन प्रक्रियामा कुनै पनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन सहयोग पुर्याउने विश्वास साथै स्थानीय समुदाय र सरोकारवाला निकायहरूसँगको सहकार्यमा शान्ति–सुरक्षा सुदृढ बनाउने कार्य निरन्तर जारी रहने बरख गणले जनाएको छ । यो गोबरगाढामा ४५१ पुरुष र २९७ महिला गरी ७४८ मतदाता छन् । यो ठाउँमा एक मतदान केन्द्र र एक मतदानस्थल रहेको छ ।


























































