काठमाडौँ – राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभामा हुने प्रतिनिधित्व निकै उत्तम रहेको बताएका छन् ।
आफ्नो कार्यकाल पुरा हुन केही दिन बाँकी रहदा बुधबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले प्रदेशगत हिसाबले सबैलाई समेटेर सभामा हुने प्रतिनिधित्व निकै उत्तम रहेको बताएकी हुन् । कानुन निर्माणका लागि निकै महत्वपूर्ण रहेको राष्ट्रियसभालाई प्रभावकारी बनाउन आगामी दिनमा सवैले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
उनले राष्ट्रियसभाले कानून बनाउन सकेन भन्ने टिप्पणीहरु पनि सुन्ने गरेको भन्दै विधयेक ल्याउने जिम्मेवारी सरकारको हुने कुरा बुझाउन सक्नुपर्नेमा जोड दिइन् । उपाध्यक्ष घिमिरेले जनतामा सेवा प्रवाह गर्नका लागि केही संविधान संशोधन गरेर विषय उठेको अवस्थामा सबै दलहरु मिलेर छिटोभन्दा छिटो त्यसलाई अघि बढाउनुपर्ने धारणा राखिन् ।
अहिलेसम्मको अभ्यासका क्रममा देखिएका कमी कमजोरीका आधारमा संशोधन गर्ने विषय टुङ्गो लगाउन सहज हुने उनको भनाइ छ । घिमिरेले राष्ट्रियसभाको कार्यकाल समाप्त भएपछि आफू पुनः एमालेमा नै क्रियाशील हुने जानकारी दिइन् ।
आगामी फागुन २० गतेदेखि घिमिरेसहित १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिदैछ ।


























































