काठमाडौँ – सरकारले मध्यपूर्वमा देशको विमानस्थलमा रहेका नेपालीहरुलाई सोही स्थानमा सुरक्षित राख्ने प्रबन्ध गरेको जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री बालानन्द शर्माले अहिले विमानस्थल बन्द रहेकाले कसैलाई फर्काउन नसक्ने भएकाले विमानस्थलमा फकेका नागरिकलाई सोही स्थानमा नै सुरक्षित राख्ने प्रवन्ध गरिएको जानकारी दिए ।
बैठकमा मध्यपूर्वमा उत्पन्न तनावपछि नेपाललाई परेको प्रभाव, नेपालले दिने प्रतिक्रिया र नेपाली नागरिकलाई परेको असरका साथै समाधानबारे छलफल भएको मन्त्री शर्माले बताए ।
उनले नेपालबाट मध्यपूर्वमा जान लागेका श्रमिकहरुलाई काठमाडौस्थीत त्रिभुवन विमानस्थलमा भएको समस्या श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरेर समाधान गरिसकेको उल्लेख गरे ।
त्यस्तै सम्बन्धित मुलुकमा गएर ट्रान्जिटमा परेका कामदार र यात्रुहरुलाई परेको समस्या समाधानका लागि सम्बन्धीत देशका राजदूतसंग समन्वय भइसकेको उनले बताए । ट्रान्जिटमा रहेकाहरुलाई गन्तव्यसम्म पुराउने अथवा जान नसक्नेहरुलाई सम्बन्धीत व्यवसायी कम्पनी वा एयरलाइन्सहरुले रेखदेख गर्ने गरि समन्वय भइरहेको मन्त्री शर्माले जानकारी दिए ।
उनले मध्यपूर्वमा रहेका नेपालीहरुको स्वास्थ्य, सुरक्षाको बारेमा अहिलेसम्म कुनै पनि हताहत नभएको र सुरक्षाको निमित्त उचित प्रबन्ध मिलाइसकेको समेत बताए ।


























































