काठमाडौँ – निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ ।


ADVERTISEMENT


निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताए । उनले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थाहरुको प्रारम्भिक प्रतिवेदनले जनाएको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सङ्कलन गरिने जनाउँदै कार्यबाहक प्रमुख भण्डारीले मतपेटिका सङ्कलन भएपछि मतगणना तत्काल सुरु गरिने जानकारी दिए । उनका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा र रुकुमपूर्वमा मतपेटिका आजै र सङ्खुवासभा, सोलुखुम्बु, मनाङ, हुम्ला, रुकुमपश्चिम र बाजुराका मतपेटिका शुक्रबारसम्म हेलिकप्टरबाट सङ्कलन गरिनेछ ।

आयोगले मताधिकारबाट प्रतिनिधि चुन्ने र शासन सत्ता सञ्चालनको प्रक्रियालाई पूर्णता दिने अभियानमा सहभागी र सहयोगी सबैलाई धन्यवाद दिएको छ । कतिपय स्थलमा मतदाताले मतदानमा सहभागी हुन अस्वीकार गरेको सन्दर्भमा कार्यबाहक प्रमुख आयुक्त भण्डारीले सरकार वा जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नहुँदा कतिपय स्थानमा मतदाताले मत नदिएको हुनसक्ने भएकाले ती मतदाताले संविधान, प्रणाली र आयोगप्रति भने असन्तुष्टि नभएको बताए ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको हो ।

यस निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । निर्वाचनमा एक लाख ८६ हजार १४२ अस्थायी मतदाता थिए ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो । १४३ अस्थायी मतदानस्थल तय भएका थिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका थिए ।