काठमाडौं – नेपालमा सम्पन्न निर्वाचनका सम्बन्धमा सञ्चार माध्यमका जिज्ञासामा प्रतिक्रिया दिँदै आधिकारिक प्रवक्ता रणधीर जायसवालले नेपालको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गरेका छन्।
उनले उत्साहजनक सहभागितासहित नेपाली नागरिकहरूले आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्दै निर्वाचन सम्पन्न गराएको भन्दै प्रशंसा व्यक्त गरेका छन्।
उनले भनेका छन्, उत्साहजनक सहभागितासहित नेपालका नागरिकहरुद्वारा आज आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको कार्यको हामी स्वागत गर्दछौं । गत वर्ष घटेका असाधारण परिस्थितिहरुका बाबजुद यो निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा हामी प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता साथै विभिन्न सरोकारवालाहरुलाई हार्दिक बधाई दिन चाहन्छौं ।
भारतले नेपालमा शान्ति, प्रगति र स्थायित्वका लागि निरन्तर सहयोग गर्दै आएको छ र हाम्रो सोही प्रतिबद्धतालाई कायम राख्दै नेपाल सरकारको अनुरोधमा यस चुनावका लागि लजिस्टिक (बन्दोबस्तीका) सामग्रीहरू उपलब्ध गराएको छ ।
हामी दुई देश र जनताबीचको मजबुत एवम् बहुआयामिक सम्बन्धलाई आपसी हितका लागि अझ सुदृढ तुल्याउन नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर छौँ ।




























































