काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । शनिबार अन्तिम मतपरिणम अनुसार आफूसँग भारी मतान्तरले विजयी भएका ओलीले बालेनलाई बधाई दिएका हुन् ।
उनले यसअघि बालेन काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भइसकेपछि आफ्नै निवासमा बोलाएर तबला उपहार दिएको तस्बिर सामाजिक सञ्जालमा राख्दै बालेनलाई बधाई तथा शुभकामना दिएका छन् ।
बालेनलाई बाबु सम्बोधन गर्दै ओलीले विजयको लागि तथा पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् भन्दै शुभकामना भने दिएका छन् । ओलीले भनेका छन्, ‘बालेन बाबु,
विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना !’
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका बालेनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका थिए । त्यसक्रममा बालेनले ६८ हजार ३४८ मत प्राप्त गरेका थिए भने ओलीले १८ हजार ७३४ मत पाएका थिए ।
जितसँगै बालेनले अब आगामी सरकारको नेतृत्व गर्ने पक्का भएको छ भने एमाले अध्यक्ष ओलीको संसदीय राजनीतिमा ब्रेक लागेको छ । यसअघि उनी २०६४ साल यता लगातार जित्दै आएका थिए ।


























































