काठमाडौँ – आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भारतले न्यूजिल्याण्डलाई २५६ रनको विशाल चुनौती दिएको छ ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरिरहेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रन बनाएको हो ।
भारतका लागि ओपनरद्वय सन्जु साम्सन र अभिषेक शर्माले शानदार ब्याटिङ गरे । उनीहरुले पहिलो विकेटका लागि ७.१ ओभरमा ९८ रनको साझेदारी गरेपछि भारतले विशाल योगफल बनाएको हो ।
त्यसक्रममा सन्जुले ४६ बलमा ५ चौका र ८ छक्का ठोक्दै ८९ रन बनाए भने अभिषेकले २१ बलमा ६ चौकका र ३ छक्का प्रहार गदै ५१ रन जोडे । यस्तै इशान किसनले २५ बलमा ४ चौका र ४ छक्काको मदतमा ५४ रन बनाए ।
बलिङतर्फ न्यूजिल्याण्डका जिम्मी निश्शमले सर्वाधिक ३ विकेट लिए भने रचिन रवीन्द्र र म्याट हेन्रीले समान १–१ विकेट हात पारे ।
भारतले सेमिफाइनलमा दुई पटकको विश्वकप विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो भने यता न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो ।


























































