काठमाडौँ – भारतले लगातार दोस्रो पटक आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिता जितेको छ । आइतबार भएको फाइनल खेलमा न्यूजिल्याण्डलाई रनले हराउँदै भारतले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकप ट्रफी उचालेको हो ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरिरहेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशास स्कोर खडा गर्यो । २५६ रनको चुनौती पच्छ्याउँदै जवाफी ब्याटिङ गरेको न्यूजिल्याण्ड निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५९ रनमै समेटिएको हो ।
न्यूजिल्याण्डका लागि टिम सेफर्टले सर्वाधिक ५२ रन बनाए । त्यसक्रममा उनले २६ बलमा २ चौका र ५ छक्का प्रहार गरे । यस्तै जिम्मी निश्शमले ३५ बलमा ४३ रनको योगदान दिए भने ड्यारी मिचेर १७ रनमा आउट भए । अन्यले दोहोरो अंक छुन सकेनन् ।
न्यूजिल्याण्डलाई सस्तैमा समेट्ने क्रममा भारतका जस्प्रित बुम्राहले सर्वाधिक ४ विकेट लिए । त्यसत्रममा ४ ओभरमा उनले मात्र १५ रन खर्चिए । यस्तै अक्षर पटेलले ३, तथा हार्दिक पाण्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले समान १–१ विकेट हात पारे ।
भारतका लागि ओपनरद्वय सन्जु साम्सन र अभिषेक शर्माले शानदार ब्याटिङ गरे । उनीहरुले पहिलो विकेटका लागि ७।१ ओभरमा ९८ रनको साझेदारी गरेपछि भारतले विशाल योगफल बनाएको हो ।
यसअघि भारतका लागि सन्जुले ४६ बलमा ५ चौका र ८ छक्का ठोक्दै ८९ रन बनाए भने अभिषेकले २१ बलमा ६ चौकका र ३ छक्का प्रहार गदै ५१ रन जोडे । यस्तै इशान किसनले २५ बलमा ४ चौका र ४ छक्काको मदतमा ५४ रन बनाए ।
बलिङतर्फ न्यूजिल्याण्डका जिम्मी निश्शमले सर्वाधिक ३ विकेट लिए भने रचिन रवीन्द्र र म्याट हेन्रीले समान १–१ विकेट हात पारे ।


























































