काठमाडौं – लगातार तीन दिन ओरालो लागेको सेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार ०.२६ अंकले बढेर झिनो वृद्धि भएको हो।
साता सुरु भएयता सोमबार, मंगलबार र बुधबार लगातार घटेको बजारमा बिहीबार बैंक तथा वित्तीय संस्थाका सेयरमा देखिएको सुधारले समग्र परिसूचकलाई सकारात्मक बनाएको हो।
यस दिन बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत् समूहका परिसूचक बढ्दा होटल, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बीमा, अन्य तथा व्यापार समूह ओरालो लागेका छन्।
नेप्सेका अनुसार बिहीबार १ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २८ कम्पनीको घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार भने ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार सिन्धु विकास बैंकको सेयर मूल्य १०.८१ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य बुधबार पनि १४ प्रतिशतभन्दा बढी बढेको थियो।
समूहगत रूपमा बैंकिङ ५.९२, विकास बैंक १२.१९, वित्त ४.२३ र जलविद्युत् १.३० अंकले बढेका छन्। यता होटल ९.९८, जीवन बीमा १२.७०, उत्पादनमूलक ८.३३, लघुवित्त १.३२, सामूहिक लगानी कोष ०.०५, निर्जीवन बीमा ४८.२४, अन्य ५.९२ र व्यापार समूह ३४.३२ अंकले घटेका छन्।
















