हेटौँडा – बागमती प्रदेश सरकारको ८ करोड ६१ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि–फ्याब भवनको शिलान्यास गरिएको छ।


ADVERTISEMENT


उक्त भवनको शिलान्यास बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरेका हुन्। विजी–साविरा चन्द्रायण जेभीले निर्माण गर्ने उक्त भवन असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।


ADVERTISEMENT

# # #


शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले भविष्यमा आफ्ना कार्यक्रमहरूलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न भवन निर्माण महत्त्वपूर्ण हुने बताए। उनले सरकारले सोही उद्देश्यका साथ आवश्यक बजेट व्यवस्था गरेको जानकारी दिए।

मुख्यमन्त्री बानियाँका अनुसार निर्माण हुने प्रि–फ्याब भवन भित्र–बाहिरको तापक्रम सन्तुलन कायम हुने गरी आधुनिक प्रविधिबाट तथा भूकम्प प्रतिरोधी ढङ्गले निर्माण गरिनेछ।

उनले निर्माण कार्य तोकिएको समयसीमाभित्रै सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि बहाना बनाएर काम ढिला गर्न नपाइने स्पष्ट पारे। “सम्झौतामा उल्लेख भएका प्रावधानअनुसार काम समयमै सम्पन्न हुनुपर्छ,” उनले भने।

निर्माण सम्झौतामा समयमै काम सम्पन्न गर्ने व्यवस्था र प्रोत्साहन (बोनस) समेत राखिएको बताउँदै उनले यसले निर्माण व्यवसायीको क्षमताप्रति सरकारको विश्वास झल्काउने बताए।

शिलान्यास कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणि पौडेल साथै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सचिव डाक्टर सुमित्रा गौतम लगायत स्वास्थ्य क्षेत्रमा सरोकार राख्ने व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।