काठमाडौँ – गैरआवासीय नेपाली संघले शनिबारबाट काठमाडौंमा सुरु हुने १२ औं विश्व सम्मेलन एवम् एकता महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले फागुन ३० देखि चैत्र २ गतेसम्म आयोजना गरिएको
विश्व सम्मेलन एवम् एकता महाधिवेशनलाई ऐतिहासिक र भव्य रूपमा सम्पन्न गर्न सबै तयारी पूरा भइसकेको जनाएको हो । “हाम्रो एकता समृद्धिको आधार” नाराका साथ सुरु हुने सम्मेलनको उद्घाटन शनिबार हुने र शनिबार बेलुकाबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने संघले जनाएको छ ।
यसपटक ४ हजार २ सय ८६ प्रतिनिधिहरुले भौतिक तथा अनलाइन माध्यमबाट निर्वाचनमा सहभागीता जनाउने गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले जानकारी दिए । विश्व सम्मेलन एवम् एकता महाधिवेशनपछि संघको नयाँ पुर्नजन्म हुने उनले बताए । अध्यक्ष केसीले सवैको अपनत्व हुनेगरि संस्था अघि बढ्ने र नेतृत्व चयनमा अध्यक्ष र महासचिव पदमा सहमतिको अधिकतम प्रयास गरिएको बताए ।
त्यस्तै गैरआवासीय नेपाली संघका अर्का अध्यक्ष महेश कुमार श्रेष्ठले सहमतिमा नै कार्यसमिति टुङ्गाउने प्रयास भइरहेको बताए । अबको सम्मेलनपछि ४–५ बर्षको विवाद अन्त्य हुने र आफ्नो उदेश्यमा अघि बढ्ने उनको भनाइ छ ।
सम्मेलनमा गैर आवासीय ऐन, गैर आवासीयले पाउने नागरिकताका विषय, संविधानप्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, लगानीको विषय लगाएतका बिभिन्न सत्रमा छलफल हुने संघले जनाएको छ । सम्मेलनमा सरकारका प्रतिनिधिहरु, विभिन्न राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु, गैरआवासीय नेपाली प्रतिनिधि लगायतको सहभागीता हुने बताइएको छ ।


























































