काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका आफ्ना सांसदहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
रास्वपाले मंगलबारदेखि काठमाडौँमा २ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको हो । पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जारी गरेको एक सूचनामा भोलि अर्थात् चैत्र ३–४ गतेका लागि ललितपुरको ग्वार्कोस्थित एक होटेलमा आवासीय अभिमुखीकरण कार्यक्रम राखिएको जानकारी दिएका हुन् ।
कार्यक्रममा अनिवार्य उपस्थित हुन सबै निर्वाचित सांसदलाई निर्देशन दिइएको छ । यस्तै सहभागीका लागि ७ बुँदे निर्देशन समेत जारी गरिएको छ । जसअनुसार सहभागीले कार्यक्रम हलमा मोबाइल लैजान पाउने छैनन् ।
यस्तै कार्यक्रमस्थलमा आफन्त वा साथीभाई लैजान वा फाटो खिच्न समेत मनाही गरिएको छ ।
गत फागुन २१ गते भएको निर्वाचन रास्वपाले प्रत्यक्षतर्फ १६५ मध्ये १२५ र समानुपातिकतर्फ ११० मध्ये ५७ सिटमा जित हात पारेको थियो । यसरी रास्वपाले प्रतिनिधिसभामा कूल २७५ मध्ये १८२ सिटसहित झण्डै दुई तिहाईको शक्ति आर्जन गरेको छ ।



























































