काठमाडौं- भोटेकोशीमा आएको अकल्पनीय बाढीपछि उत्पन्न बहुआयामिक चुनौतीबीच नेपाल प्रहरीले उद्धार, खोजी, राहत, शव व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनलाई एकसाथ अघि बढाएको छ।
सीमित साधनस्रोतका बाबजुद सूचना सङ्कलन तथा विश्लेषण, उपलब्ध जनशक्ति र प्रविधिको अधिकतम प्रयोग गर्दै प्रहरीले विपद् प्रभावित क्षेत्रमा निरन्तर काम गरिरहेको छ। पछिल्लो तथ्याङ्कअनुसार विपद् व्यवस्थापनका लागि ७ हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन भएका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ८५३ जनाको उद्धार गरिएको छ भने ५ हजार १५ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
कुकुर र ड्रोनबाट खोजी तीव्र
सम्पर्कविहीन नागरिकको खोजीका लागि नेपाल प्रहरीले विशेष टोलीसँगै तालिमप्राप्त कुकुर र ड्रोन क्यामेरासमेत परिचालन गरेको छ। भौगोलिक रूपमा कठिन तथा भग्नावशेषमा पुग्न समस्या भएका स्थानमा ड्रोनको प्रयोग गरी खोजी कार्यलाई प्रभावकारी बनाइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार विशेष टोली परिचालन गरिएको छ।
“उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन आवश्यकता अनुरूप विशेष टोलीहरू परिचालन गरिएको छ,” उनले भने। नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र स्थापना गरी २४ सै घण्टा अनुगमन भइरहेको छ। केन्द्रमा सम्पर्कविहीन आफन्तको खोजी तथा उद्धारका लागि परिवारबाट आउने सूचनाका आधारमा सम्बन्धित प्रहरी युनिटलाई जानकारी गराउने गरिएको छ।
हालसम्म उक्त केन्द्रमा आफन्तको खोजी तथा उद्धारका लागि १ हजार ३५१ पटक अनुरोध आएको प्रहरीले जनाएको छ। ड्रोनको प्रयोगबाट नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारिएको प्रहरीले जनाएको छ। भग्नावशेष हटाउँदै जस्तापाता, काठ, डोरीलगायत सामग्रीको सहायताले प्रहरी टोली शव रहेको घरसम्म पुगेको थियो।
वैज्ञानिक विधिबाट शव व्यवस्थापन
उद्धार तथा खोजी अभियानसँगै पहिचान हुन नसकेका शव तथा मानव अङ्गको व्यवस्थापनलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ। फोरेन्सिक विशेषज्ञसहितको टोलीले घटनास्थल मुचुल्का, शव पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव व्यवस्थापन गरिरहेको छ। शवलाई सुरक्षित रूपमा ‘डेड बडी ब्याग’मा राख्ने, फोरेन्सिक परीक्षण गर्ने तथा पहिचानमा सहज होस् भनेर शवका तस्बिर र उपलब्ध विवरण सुरक्षित राख्ने व्यवस्था गरिएको छ।
शवको वैज्ञानिक पहिचानका लागि डीएनए नमुना सङ्कलन गरी सुरक्षित राखिएको छ। नेपाल प्रहरी अस्पताल, महाराजगञ्जले हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तबाट सङ्कलित नमुनाका आधारमा डीएनए प्रोफाइलिङको कामसमेत गरिरहेको छ।
विदेशी नागरिकको खोजी तथा पहिचानका लागि नेपाल प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्बन्धित देशका दूतावास, कूटनीतिक नियोग तथा विदेशी संस्थासँग सूचना आदानप्रदानका लागि छुट्टै संयन्त्र स्थापना गरिएको छ।
अपराध नियन्त्रणमा समेत निगरानी
विपद्का कारण विस्थापित नागरिकका खाली घरको सुरक्षा तथा विपद्को मौका छोपी हुनसक्ने चोरी, लुटपाटलगायत आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले निगरानी बढाएको छ। उद्धार तथा खोजी कार्यमा सुरक्षाकर्मी व्यस्त रहेको अवस्थाको फाइदा उठाएर हुनसक्ने आपराधिक गतिविधि रोक्न नियमितभन्दा बढी गस्ती तथा निगरानी परिचालन गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, राहत सङ्कलनका नाममा हुनसक्ने ठगी तथा अन्य गैरकानुनी गतिविधिमाथि पनि प्रहरीले निगरानी गरिरहेको छ।
सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचना, अफवाह तथा भ्रामक समाचार नियन्त्रणलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ। विपद्का बेला गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा उद्धार तथा राहत कार्यमा अवरोध पुर्याउने गतिविधिमाथि कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।
स्वास्थ्य उपचारदेखि मनोसामाजिक परामर्शसम्म
बाढी प्रभावित क्षेत्रमा उद्धार गरिएका तथा घाइते नागरिकको स्वास्थ्य उपचारमा पनि नेपाल प्रहरी सक्रिय छ। नेपाल प्रहरी अस्पतालबाट विशेषज्ञ चिकित्सकको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। बाढीबाट उत्पन्न मानसिक तनाव तथा त्रास कम गर्न स्वास्थ्य उपचारसँगै मनोचिकित्सकीय तथा मनोसामाजिक परामर्शसमेत प्रदान गरिएको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका उद्धार गरिएका नागरिकलाई राहत वितरणका लागि स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरिएको छ। प्रहरीका अनुसार प्रभावित क्षेत्रमा हालसम्म ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन भएका छन्। ती कार्यक्रममा ४१ हजार २५७ जना सहभागी भएका छन्।
महिला, बालबालिका र ज्येष्ठ नागरिकप्रति विशेष संवेदनशीलता
विपद् प्रभावित क्षेत्रमा स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्रहरीले विशेष प्राथमिकता दिएको छ। महिला तथा बालबालिकाविरुद्ध हुनसक्ने दुर्व्यवहार, हिंसा तथा अन्य अप्रिय घटना रोक्न महिला प्रहरीसहित थप टोली परिचालन गरिएको छ। उनीहरूका समस्या तथा गुनासो सम्बोधनका साथै आवश्यक मनोपरामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको छ। नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ टोलीले स्वास्थ्य परीक्षण तथा मनोपरामर्शसमेत प्रदान गरिरहेको छ।
स्थानीय तह र अन्य निकायसँग सहकार्य
बाढीका कारण हिलाम्मे भएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा विस्थापित नागरिकका घर सफाइ र मर्मतसम्भार गरी पुनः प्रयोगमा ल्याउन प्रहरी स्थानीय तह तथा अन्य निकायसँग सहकार्य गरिरहेको छ। बाढी तथा पहिरोका कारण अवरुद्ध सडकको अवस्थाबारे समयमै सूचना प्रवाह गर्नुका साथै वैकल्पिक मार्गबारे यात्रुलाई जानकारी दिने कामसमेत भइरहेको छ। अवरुद्ध सडक पुनः सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने कार्यमा प्रहरी जुटेको नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरिक्षक धर्मराज भन्डारीले जानकारी दिए।
नागरिकको दुःखमा प्रहरी
बाढी प्रभावित क्षेत्रमा अझै ठूलो मात्रामा हिलो, पाँगो माटो र ढुङ्गा थुप्रिएका छन्। कतिपय स्थानमा पुनः बाढी आउन सक्ने जोखिमसमेत कायम छ। यस्तो जोखिमबीच पनि नेपाल प्रहरीले उद्धार, खोजी, शव व्यवस्थापन, राहत वितरण, विस्थापितको सुरक्षा र अपराध नियन्त्रणलाई समानान्तर रूपमा अघि बढाएको छ। आफ्नै सुरक्षाको जोखिम मोलेर पनि नागरिकको उद्धारमा खटिएका प्रहरी कर्मचारीले विपद्को समयमा राज्यको सुरक्षा संयन्त्रको उपस्थितिलाई थप अनुभूत गराउने प्रयास गरिरहेका छन्। उद्धारदेखि पुनःस्थापनासम्मका चुनौती थपिँदै गए पनि नागरिकको सुरक्षा र सेवामा आफ्नो कर्तव्यबाट विचलित नहुने प्रतिबद्धतासहित नेपाल प्रहरी प्रभावित क्षेत्रमा अहोरात्र खटिरहेको छ।


































































