काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा लगानी र सहकार्यका विभिन्न अवसरहरूमा सक्रिय सहभागिताका लागि गैरआवासीय नेपालीलाई आह्वान गरेकी छन् ।
सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन तथा विश्व सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकताको व्यवस्था गरेको भन्दै मुलुकमा लगानी र सहकार्यका विभिन्न अवसरहरूमा सक्रिय सहभागिताका लागि आह्वान गरेकी हुन् ।
वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने, गैरआवासीय नेपालीको पुँजीलाई सुरक्षित र पारदर्शी ढङ्गले परिचालन गर्ने तथा दीर्घकालीन लगानी संरचना निर्माण गर्ने नीति अबको प्राथमिकतामा रहनेमा आफु विश्वस्त रहेको उनले बताइन् ।
उनले विश्वभरका नेपालीहरूको साझा छाता संस्थालाई एकताबद्ध र बलियो बनाउन सर्वसम्मत नेतृत्व चयन गरी अगाडि बढ्ने निर्णयले अत्यन्त खुसी लागेको धारणा राखिन् । प्रधानमन्त्री कार्कीले अब बन्ने सरकारले मुलुकलाई सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको मार्गमा तीव्र गतिमा अघि बढाउने विश्वास व्यक्त गरिन् ।
उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक रहेकाले मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका लागि आग्रह समेत गरिन् ।



























































