ललितपुर — ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेंगु रोगको जोखिम न्यूनीकरण तथा सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले डेंगु सम्बन्धी जनचेतनामूलक कार्यक्रम एवं बृहत् सरसफाइ अभियान आयोजना गरिएको छ।
महालक्ष्मी नगरपालिका वडा नं.७ को आयोजनामा शनिबार बिहान ७ बजे गोदावरी खोला, निलो पुल परिसरमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष बाबुराजा महर्जन, वडा सदस्यहरू, वडाका कर्मचारी, बुद्धिजीवी तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।


ADVERTISEMENT



डेंगु रोग फैलाउने लामखुट्टेको नियन्त्रणका लागि पानी जम्ने स्थानको पहिचान तथा सफाइ गर्ने, घर तथा आसपासको वातावरण स्वच्छ राख्ने र डेंगुबाट बच्न अपनाउनुपर्ने सावधानीबारे स्थानीयवासीलाई सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको वडा अध्यक्ष महर्जनले हिमालय पोस्टलाई जानकारी दिए।
वडा अध्यक्ष महर्जनका अनुसार डेंगु नियन्त्रणका लागि केवल औषधि तथा उपचारमा निर्भर भएर मात्र पुग्दैन। यसको मुख्य कारण मानिने लामखुट्टेको वृद्धि रोक्न घर, टोल, सडक तथा सार्वजनिक स्थानमा पानी जम्न नदिने र नियमित सरसफाइ गर्ने विषयमा समुदाय नै सचेत र सक्रिय हुन आवश्यक रहेको उनले बताए।


ADVERTISEMENT

# # #



कार्यक्रमका क्रममा गोदावरी खोला आसपास तथा सार्वजनिक क्षेत्रमा सरसफाइ गर्नुका साथै डेंगु नियन्त्रणका उपायबारे जनचेतना फैलाइएको थियो। स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला र स्थानीय समुदायबीचको सहकार्यबाट मात्रै डेंगु नियन्त्रणलाई प्रभावकारी बनाउन सकिनेमा सहभागीहरूले जोड दिएका थिए।
महालक्ष्मी नगरपालिका–७ ले आगामी दिनमा पनि स्वच्छ वातावरण निर्माण, सरसफाइ र जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। समुदायको सहभागितामा सञ्चालन हुने यस्ता अभियानले डेंगु लगायतका सरुवा रोगको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।