काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पूजनीय पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा २०८२ साल फागुन २९ गते भएको असामयिक निधनप्रति बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गहिरो दुःख व्यक्त गरेका छन्।


ADVERTISEMENT


मुख्यमन्त्री बानियाँले दिवंगत मोहनप्रसाद ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनको खबरले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताएका छन्। उनले दिवंगत मोहनप्रसाद ओलीलाई सादगी, निष्ठा र प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गर्दै परिवार र समाजमा पुर्‍याएको योगदान सधैं सम्मानपूर्वक सम्झिइने उल्लेख गरेका छन्।


ADVERTISEMENT

# # #


यस दुःखद घडीमा मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार र नेपाली कांग्रेस बागमती प्रदेशको तर्फबाट दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धासुमन अर्पण गरेका छन्। साथै, उनले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूलाई यो अपूरणीय क्षति सहन धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।

मुख्यमन्त्री बानियाँले शोक सन्देशमार्फत दुःखको यस घडीमा राजनीतिक विचारभन्दा माथि उठेर मानवीय संवेदना र सम्मान सबैभन्दा ठूलो मूल्य भएको उल्लेख गरेका छन्। उनले पूर्वप्रधानमन्त्री ओली र उनको परिवारप्रति समवेदना प्रकट गर्दै यस पीडादायी क्षणमा आफूहरू साथमा रहेको सन्देश दिएका छन्।

दिवंगत मोहनप्रसाद ओलीको निधनले केवल ओली परिवारलाई मात्र नभई उनलाई नजिकबाट चिन्ने, सम्मान गर्ने र उनको सरल जीवनशैलीबाट प्रेरित हुने धेरैलाई भावुक बनाएको छ। उनको सादगी, अनुशासन र जीवनप्रतिको निष्ठा सधैं स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ।