काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको छ। कांग्रेसका प्रमुख सचेतक पुकार महर्जनले सभामुखसमक्ष निवेदन दिँदै अदालतमा विचाराधीन विषय टुंगो नलागेसम्म प्रदेशसभा बैठक अघि नबढाउन आग्रह गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेकै अवस्थामा कांग्रेसले बैठक स्थगनको माग गरेको हो। प्रदेशसभा सचिवालयले मुख्यमन्त्री थापामगरले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची तय गरेको जनाएको छ।
कांग्रेसले आफ्नो निवेदनमा अदालतमा विचाराधीन मुद्दासँग सम्बन्धित विषय प्रदेशसभामा छलफल गर्दा न्याय निरूपणमा प्रतिकूल असर पर्न सक्ने जिकिर गरेको छ। त्यसैले अदालतबाट अर्को निर्णय नआएसम्म बैठक स्थगित गर्नु उपयुक्त हुने कांग्रेसको तर्क छ।
यसैबीच कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीपसमेत जारी गरिसकेको छ। सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ।
कांग्रेसको बैठक स्थगन मागसँगै मुख्यमन्त्री थापामगरले विश्वासको मत लिने तयारी र प्रदेशसभाभित्रको राजनीतिक समीकरण थप पेचिलो बनेको छ।





























































