काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे ।
अर्याललाई सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले प्रस्ताव गरेका थिए ।
त्यो प्रस्तावको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अर्याल काठमाडौं ९ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । सभामुख चयन भएसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ । उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ ।
अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् ।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् ।


























































