हेटौंडा – हेटौंडामा नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय एकदिने निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न भएको छ।


ADVERTISEMENT


नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा केन्द्रीय सभापति गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षता रहेको थियो।


ADVERTISEMENT

# # #


कार्यक्रममा कांग्रेसका केन्द्रीय पदाधिकारी, बागमती प्रदेशका प्रतिनिधिसभा उम्मेदवारहरू, जिल्ला सभापतिहरू, प्रदेशसभा सदस्यहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू तथा प्रदेशसभा क्षेत्रीय सभापतिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै केन्द्रीय महामन्त्री प्रदीप पौडेल तथा सहमहामन्त्रीद्वय बहादुर सिंह लामा र डिना उपाध्यायको पनि सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति बानियाँले निर्वाचनपछिको समीक्षा तथा आगामी १५औँ महाधिवेशनको तयारीलाई लक्षित गरी सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

उनले पार्टीभित्र देखिएको अन्योलता अन्त्य भएको बताएका छन्। उनले कार्यक्रममा उपस्थित उम्मेदवारहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, जिल्ला सभापतिहरू, केन्द्रीय सदस्यहरू लगायत सबैलाई स्वागत गर्दै समीक्षा कार्यक्रमको महत्व औंल्याए।

बानियाँका अनुसार नेपाली कांग्रेस लामो समयसम्म आन्तरिक विवाद, विशेष महाधिवेशन, नियमित महाधिवेशन तथा निर्वाचन आयोगदेखि अदालतसम्म पुगेका प्रक्रियाबाट गुज्रिएको थियो। ती सबै प्रक्रियाबाट अहिले पार्टीले स्पष्ट निकास पाइसकेको उनले बताए। “अब नेपाली कांग्रेसको वैधानिकतामा कुनै दुविधा छैन,” ‘एकता र नयाँ रणनीतिबाट कांग्रेस बलियो बन्छ’ उनले भने।

उनले नेपाली कांग्रेस को वर्तमान केन्द्रीय समिति, सभापति गगन कुमार थापा को नेतृत्वमा संविधान र कानुनअनुसार वैधानिक रहेको स्पष्ट भइसकेको उल्लेख गरे।

बानियाँले विगतमा पार्टी विभिन्न आन्तरिक द्वन्द्व र संकटबाट गुज्रिएको स्मरण गर्दै अब डराउने वा पछि हट्ने अवस्था नरहेको बताए। उनले पार्टीभित्रको अनुभव, धैर्यता र निरन्तरताको बलमा एकता सुदृढ गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार नेतृत्वले सबै पक्षलाई समेट्दै आन्तरिक विवाद अन्त्य गरेर संगठनलाई बलियो बनाउने दिशा लिएको छ। “सबैलाई मिलाएर अघि बढ्नु नै राजनीतिक धर्म हो,” उनले भने, “त्यही मार्गमा नेतृत्व अघि बढ्ने विश्वास छ।”