काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशभरका सुकुम्बासी बस्तीहरुलाई हडाउँदा जबरजस्ती नगरिने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै बालेनले खोला किनारका सुकुम्बासीलाई बल प्रयोग नगरी मानवीयतालाई ख्याल गर्दै सुरक्षित रुपमा स्थानान्तरण गर्ने बताएका हुन् ।
काठमाडौँको थापाथली लगायत नदी किनाराका सुकुम्बासी बस्ती हटाउन प्रहरी र सरकारले बल प्रयोग गर्ने समाचार बाहिरिरहेका बेला प्रधानमन्त्री बालेनले त्यसको खण्डन गरेका हुन् ।
उनले भनेका छन्, ‘थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो।’
नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेको बताउँदै उनले बस्तीको स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउने दाबी गरेका छन् । साथै वर्खाको समयमा ढल र बाढीका कारण खोला किनारका बस्तीमा रहेका हजारौँ व्यक्ति जोखिममा पर्ने गरेकाले त्यसलाई रोक्नका लागि स्थानान्तरण आवश्यक रहेको उनको भनाई छ ।
उनले आफूले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, र रास्वपाको वाचापत्र र ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ अन्तर्गत सुकुम्बासी बस्तीबारेको वाता नबिर्सिएको बताएका छन् ।
साथै उनले काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार रहेको र उनीहरु वास्तवमै पीडित भए पनि काठमाडौँको अवस्था भने फरक रहेका बताएका छन् । वास्तविक सुकुम्बासी र अतिक्रमणकारी सरकारले छुट्याउने बताउँदै उनले भनेका छन्, हामी सरकारमा छौँस अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।’


























































