काठमाडौं – नेपाली मूलका युवा नेता सतीश चापागाई अमेरिकाको मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्स बन्न प्रतिस्पर्धामा उत्रिएका छन् ।
सन् २००८ देखि अमेरिकामा बसोबास गर्दै आएका चापागाईं मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ७ (ए)बाट हाउस अफ डेलिगेट्सका लागि चुनावी दौडमा रहेका छन् ।
हाउस अफ डेलिगेट्स चयनका लागि मेरिल्यान्डमा आगामी नोभेम्बरमा हुने चुनावी प्रतिस्पर्धामा उनी डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्न प्राइमरी इलेक्सन (उम्मेदवार छनोटका लागि पार्टीभित्र हुने निर्वाचन)मा प्रतिस्पर्धामा उत्रिएका हुन् ।
अमेरिकामा प्रत्येक तहको जनप्रतिनिधि उम्मेदवार बन्न पहिलो चरणमा आफ्नो पार्टीभित्र प्राइमरी इलेक्सनमा निर्वाचित भएपछि मात्र सोही पार्टीबाट चुनावी प्रतिस्पर्धामा भाग लिन पाउने प्रावधान छ । नोभेम्बरमा हुने हाउस अफ डेलिगेट्स निर्वाचनका लागि डेमोक्रेटिक पार्टीमा प्राइमरी इलेक्सन आगामी जुन २३ मा हुनेछ ।
पत्रकारिता क्षेत्रबाट आफ्नो करिअर सुरू गरेका सतीश नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । हाल उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारको भूमिकामा समेत छन् । नेपालमा पाल्पा घर भएका उनी विगत चार वर्षदेखि डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यका रुपमा आबद्ध छन् । उनी डेमोक्रेटिकको निर्वाचित केन्द्रीय सदस्य हुन् । डेमोक्रेटिकको प्राइमरी इलेक्सनमा आफ्नो जित हुने र हाउस अफ डेलिगेट्समा आफू रिपब्लिकनको उम्मेदवारसँग प्रतिस्पर्धा गर्न तयार रहेको उनले बताए ।
हाउस अफ डेलिगेट्स उम्मेदवार बन्ने होडमा डेमोक्रेटिकको प्राइमरी इलेक्सनमा सतीशसँगै चार जना प्रतिस्पर्धी चुनावी मैदानमा छन् । चारमध्ये प्राइमरी इलेक्सनमा बढी मत ल्याउने दुई जना उम्मेदवारका लागि डेमोक्रेटिकबाट छनोट हुनेछन् । हालसम्म सतीशसँगै लिडिया ब्राउन, चम बेकर र क्लिभलेन्ड रेनोल्ड जुनियर चुनावी प्रतिस्पर्धामा उत्रिने पक्का भइसकेको छ ।
यीमध्ये बढी मत ल्याउने दुई उम्मेदवारले आगामी नोभेम्बरमा हुने निर्वाचनमा रिपब्लिकन पार्टीका दुई उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने छन् । निर्वाचनमा प्रतिस्पर्धा गर्ने दुई पार्टीका चार उम्मेदवारमध्ये विजयी हुने २ जना मेरिल्यान्डको डिस्ट्रिक्ट ७ (ए)को सांसद बन्ने छन् । यो क्षेत्रमा ८३ हजार मतदाता छन् । जसमध्ये ४ प्रतिशत एसियाली मूलका मतदाता रहेका छन् । ८३ हजार मतदातामध्ये ४४.९ प्रतिशत रिपब्लिकन, ३४.७ प्रतिशत डेमोक्र्याक्ट र १८.९ इन्डिपेन्डेन्ट मतदाता रहेको आकलन गरिएको छ ।
सतीशले आफू प्राइमरी इलेक्सनमा उम्मेदवार बनेपछि नेपाली समुदायसँग सम्बन्धित मेरिल्यान्डमा रहेका संघसंस्थाहरूसँग छलफल सुरू गरिसकेका छन् । सबैको साथका लागि उनले नेपाली आबद्ध संस्थाहरूलाई आग्रहसमेत गरेका छन् । आफू स्टेट डेलिगेटमा निर्वाचित भएमा नेपालीका मुद्दालाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
आठ जना नेपाली मूलका जनप्रतिनिधि स्थानीय तहमा छन् । टीका पौडेल टेक्सस राज्यको युलेस सहरका उपमेयर छन् । किरण सिटौला मेरिल्यान्ड राज्यको टाउन अफ इन्डियन हेडमा उपमेयर हुन् । स्थानीय तहको सदस्य (सिटी काउन्सिल मेम्बर) मा डिल्ली भट्टराई, रामचन्द्र श्रेष्ठ, ज्ञानु श्रेष्ठ, चिरन न्यौपाने, भुवन प्याकुरेल र मधु पन्थी छन् ।


























































