हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारमाथि विभिन्न किसिमका ‘आक्रमण’ भइरहेको उल्लेख गर्दै खर्च नियन्त्रण र सेवा प्रवाह सुधारमा सरकार केन्द्रित रहेको बताएका छन्।


ADVERTISEMENT


हेटौंडामा आयोजित पत्रकारहरूसँगको अन्तरसंवाद कार्यक्रममा उनले प्रदेश सरकारको स्वीकृत दरबन्दी करिब ५ हजार २ सय रहेको जानकारी दिँदै तीनै तहका सरकार गठन हुँदा तय भएको उक्त संरचनाभित्र खर्च कसरी घटाउन सकिन्छ भन्नेमा सरकार लागेको बताए।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँका अनुसार प्रदेश सरकारको कुल बजेट ६७ अर्ब रुपैयाँमध्ये ४१ अर्ब पूँजीगत र २६ अर्ब साधारण खर्च रहेको छ। चालु आर्थिक वर्षका लागि सरकारले करिब २ अर्ब रुपैयाँ खर्च कटौती गरेको उनले जानकारी दिए।

उनले अनावश्यक खर्च नियन्त्रण गर्न सबै मन्त्रालयलाई निर्देशन दिइएको उल्लेख गर्दै अत्यावश्यक अवस्थामा मात्रै सवारी साधन प्रयोग गर्न भनिएको बताए। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिले खर्च बढाएको उल्लेख गर्दै त्यसलाई व्यवस्थापन गर्ने उपायहरू खोजिरहेको उनको भनाइ थियो।

कार्यक्रममा उनले मन्त्रालयका सचिवहरूसँग नियमित छलफल गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन जोड दिइएको बताए। विशेषगरी यातायात मन्त्रालयमार्फत हुने सेवामा ढिलासुस्ती र गुनासो नआओस् भनेर समयमै काम गर्न निर्देशन दिइएको उनले बताए।

मुख्यमन्त्री बानियाँले प्रदेशको मुख्य राजस्व स्रोत यातायात क्षेत्र रहेको उल्लेख गर्दै यस क्षेत्रमा सुधार गर्दै सेवा डिजिटाइज गर्ने योजना रहेको बताए। “जनताले कार्यालय धाउन नपर्ने गरी घरमै बसेर सेवा लिन सक्ने व्यवस्था गर्नुपर्छ,” उनले भने।

खानेपानी, सिँचाइ, ऊर्जा, भौतिक पूर्वाधार, सामाजिक विकास र स्वास्थ्य मन्त्रालयमार्फत जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवाहरूलाई सहज र प्रभावकारी बनाउन आफू स्वयं सक्रिय रहेको उनको भनाइ थियो।

सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै उनले तथ्यहीन र नकारात्मक समाचारले समाजमा भ्रम फैलाउने भएकाले सत्यतथ्यमा आधारित, निष्पक्ष र खोजमूलक पत्रकारिता गर्न आग्रह गरे। “सामान्य विषयलाई अतिरञ्जित गरेर गलत सन्देश दिने काम नगर्नुहोस्,” उनले भने।

मुख्यमन्त्री बानियाँले सञ्चार माध्यमलाई ‘राज्यको चौथो अंग’को जिम्मेवारी स्मरण गराउँदै जनतालाई सही सूचना दिनुपर्नेमा जोड दिए।