चतराधाम – कोशी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री भीम पराजुलीले सुनसरीको वराहक्षेत्र -१ चतराधाम स्थित ‘जगदगुरु श्रीरामानन्दाचार्य गुरुकुल’ को उद्घाटन गरेका छन् ।
जगदगुरु महायोगी सिद्धबाबाको सङ्कल्पमा यसै शैक्षिक सत्रबाट कक्षा-६ देखि अध्यापन सुरु गरिने गुरुकुलको आइतबार मन्त्री पराजुलीले उद्घाटन गरेका हुन् ।
सामुदायिक धार्मिक विद्यालयका रुपमा गुरुकुलको सञ्चालन हुने प्राचार्य रामहरि ढकालले जानकारी दिए । कक्षा-६ मा १८ जनाको कोटा निर्धारण गरिएको छ । १३ जना विद्यार्थी भर्ना भएका छन् । प्राचार्य ढकालका अनुसार गुरुकुललाई वैदिक, आधुनिक, संस्कृत विद्यालयका रुपमा स्थापित गरिने छ ।
गुरुकुलमा कक्षा ६ देखि कक्षा-१२ सम्म नेपाल सरकारको पाठ्यक्रमअनुसार अंग्रेजी माध्यममा पठनपाठन हुने छ ।
गुरुकुलमा आवासीय सुविधा हुनेछ । गुरुकुल पद्धतिअनुसार ब्रह्ममुहूर्तदेखि सुरु हुने अनुशासित जीवनशैली, योग, प्राणायाम, ध्यान, नित्य सन्ध्या–वन्दन, वेद–व्याकरण अध्ययन, संस्कार, संस्कृति तथा जीवन–कर्तव्य सम्बन्धी शिक्षा प्रदान गरिने पिठले जनाएको छ ।
पिठका साधक आकाश शर्माका अनुसार विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आधुनिक पूर्वाधारसहित स्मार्ट क्लास, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, आधुनिक पुस्तकालय र अध्ययन कक्षको व्यवस्था गरिएको छ ।
‘गुरुकुलमा खेलकुद, नृत्य, सङ्गीतलगायत अतिरिक्त अध्यापन हुनेछ । ‘प्रोग्रेसिभ लर्निङ मेथडअनुसार व्यवहारिक र जीवनोपयोगी शिक्षण पद्धति अपनाइनेछ,’ प्राचार्य ढकालले भने, ‘पूर्ण रूपमा सुरक्षित तथा स्नेहपूर्ण वातावरणमा आवासीय सुविधा, सन्तुलित आहार–विहार, योग तथा आयुर्वेदिक जीवनशैलीको अभ्यास गराइन्छ । अभिभावकसँग हप्तामा एकपटक भिडिओकल मार्फत सम्पर्क व्यवस्था गरिएको छ ।’


























































