काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको तेश्रो सांग्रिला क्विज २०८३ सम्पन्न भएको छ ।
प्रतियोगिताको फाइनल चरण ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता बनेका छन् भने इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता भएका छन् ।
प्रतियोगिताका विजेताले जनही ६० हजार रुपैयाँ तथा उपविजेताले जनही ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । ‘कन्ट्रि राउन्ड’मा ‘क्लस्टर राउन्ड’बाट छनोट भएका १० वटा क्लस्टर तथा सब–क्लस्टरका दुई–दुई जना गरी २० प्रतिस्पर्धी सहभागी थिए ।
कार्यक्रममा बैंकमा लामो समयदेखि सेवा पुर्याउँदै आएका तथा विभिन्न तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरेका कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
विजेता, उपविजेता, प्रतिस्पर्धी तथा सम्मानित व्यक्तित्वलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी, प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रजित मास्के तथा रिकभरी तथा एनपीएल व्यवस्थापन इकाइ प्रमुख जयन्द्रबहादुर खड्काले पुरस्कार तथा मायाको चिनो प्रदान गरेका थिए ।
बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रवाह गरिरहेको जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा अझ विस्तार गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।


























































