काठमाडौं- मंगलबार बसेको बैठकमा आकस्मिक, शुन्य र विशेष समय सकिएपछि सभामुख डोल प्रसाद अर्यालले कार्यसूचीमा रहेका बिषयलाई अगाडी बढाउन लाग्दा बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि सभामुख अर्यालले कांग्रेस प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिए । कांग्रेस प्रमुख सचेतक थापाले सरकारले दुई तिहाइको दम्भ देखाएको बताएकी छन्। उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रतिपक्षको माग र जनचासोका विषयलाई बेवास्ता गर्दै सञ्चालन गर्नु संसदीय मर्यादाको अभ्यास नभएको उल्लेख गरिन् ।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक व्यवस्था, कानुनी व्यवस्था अनुसार पनि प्रधानमन्त्री सदनमा उपस्थीत हुनुपर्ने भन्दै प्रधानमन्त्री नआए संसदको अवरोध नहट्ने बताएका छन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले जनताका प्रश्नको जवाफ दिनुपर्ने बताए। उनले संख्याको दम्भ नराख्न सरकारलाई सुझाव समेत दिएका छन् ।
त्यस्तै अन्य बिपक्षी दलका सांसदहरुले पनि प्रधानमन्त्रीको उपस्थितिको लागि रुलिङको माग गरेका थिए । विरोधपछि बैठकमा सभामुख अर्यालले बिपक्षी दलले राखेका माग जायज भएको भन्दै आफु पनि निरन्तर छलफलमा रहेको बताए ।
उनले छिटै प्रधानमन्त्रीको उपस्थीति सदनमा हुने भएकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए
बिपक्षी दलका सांसदहरुले निरन्तर विरोध जनाएपछि सभामुख अर्यालले विरोधकाबीच कार्यसूचीमा रहेका कार्यक्रमलाई अघिबढाएका थिए भने बिपक्षी दलका सांसदहरुले उठेर नारावाजी गरेका थिए । पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल जारी रहदा समेत विरोध जारी रहेपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगीत गरेका छन् ।


























































