काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलकुद क्षेत्र युवाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार भएको बताएका छन्।
रनिङ सिल्ड उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदले युवालाई स्वस्थ, अनुशासित, आत्मविश्वासी र सक्षम बनाउने उल्लेख गरेका छन्।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले विद्यालयस्तरदेखि अन्तरप्रदेशस्तरीय प्रतियोगितासम्म खेलकुद गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिँदै जिल्लादेखि प्रदेशस्तरसम्म खेललाई जोड्ने नीति लिएको बताए। उनले यस्ता प्रतियोगिताले खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धा विकास गर्नुका साथै नयाँ प्रतिभा उत्पादन गर्न सहयोग पुग्ने धारणा राखेका छन्।
कार्यक्रममा बागमती प्रदेशका खेलकुद मन्त्री उर्मिला नेपाल ,बागमती प्रदेशका पूर्व खेलकुद मन्त्री मिन कृष्ण महर्जन, खेलकुद सदस्य सचिव दिपक लामा लगायत विभिन्न खेलाडी, शिक्षक तथा खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। साथै खेलकुद मन्त्रालयका प्रतिनिधि तथा सरोकारवालाको सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
मुख्यमन्त्री बानियाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै प्रतियोगिता सभ्य, मर्यादित र सफल रूपमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।


























































