काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अराजक शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा नेकपा एमाले संगठन बिभागले आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकार आफ्नो अधिकारको दुरुपयोग गर्दै अराजक शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका हुन् । अराजकता केही दिनको पाहुना मात्रै भएको उल्लेख गर्दै अध्यक्ष ओलीले लामो समय नचल्ने बताएका छन्। उनले समय र परिस्थिति सधैँ एउटै नरहने भएकाले राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिलाई समेत संयमित हुन सुझाव दिएका छन्।
उनले भदौ २३ र २४ गते भएको आगजनीलगाएत उपद्र मच्चाउनेहरुलाई उन्मुक्ति दिन खोजिएको आशंका व्यक्त गरेका छन् । त्यस्तै अध्यक्ष ओलीले सीमाका बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति देशद्रोही भएको बताएका छन् । सीमाबारे दुई देशबीचकोे कुरामा अर्को देशलाई तान्ने बिषय अकूटनीतिक भएको उनको भनाई छ । भारतको एक इन्च पनि जमिन नमिचेको भन्दै ओलीले देशद्रोही कुराका कतिपयले समर्थन गरेको देख्दा अचम्म लागेको जिकिर गरेका छन् ।
उनले पार्टी भित्र भएका कतिपय अन्यौलता र भ्रमहरु चिर्ने र नयाँ विश्वास, नयाँ जोश र नयाँ जागरका साथ पार्टीलाई अघि बढाइने बताएका छन्। अध्यक्ष ओलीले पार्टी भित्र अहिले व्यापक एकता चाहिएकाले पार्टी विरुद्ध भ्रम फिँजाउने काम बन्द गर्न निर्देशन दिएका छन् । उनले एमाले ३६ वर्ष देखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको बताउदै सबै नेता कार्यकर्ता त्यसकै आधारमा चल्नुपर्ने बताएका छन् । अध्यक्ष ओलीले कतिपय नेताहरुले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।


























































