काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेन्द्र बहादुर शाहीले यसअघिका सरकारहरुले गरेको गलत कामको छानविन गर्न सरकारलाई चूनौति दिएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद शाहीले सरकारका मन्त्रीहरुले आफ्नो कमजोरी ढाकछोप गर्न यसअघिका सरकारहरुले पनि गलत गरेको आरोप लगाइरहेको भन्दै गलत कामको छानविन गर्न सरकारलाई चूनौति दिएका हुन् ।
उनले सरकारको नेतृत्वमा बसेका मान्छेहरुले धम्कीको भाषा प्रयोग गर्न नसुहाउने बताएका छन् । अगाडिका सरकारहरूले नियम कानुन संविधान विपरीत काम गरेको भए छानबिनगरि कानूनी कारवाहीको दायरामा ल्याउने दायित्व र जिम्मेवारी सरकारको भएको उनको भनाइ छ ।
उनले सरकारमा बसेकाहरुले गल्ती गर्न नहुने भन्दै गल्ती भएका बिषयमा सरकारले जनतालाई जवाफ दिन सक्नुपर्ने बताएका छन् । सांसद शाहीले दुई तिहाइको नजिक पुगेको सरकारले जनताको अपेक्षा अनुसार देशको बिकासमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन् ।
स्वदेशमै नै उत्पादनका स्रोतहरू पहिचान गर्ने, लगानी केन्द्रित गर्ने, रोजगारी सिर्जना गर्ने, बिगतमा भएका भ्रष्टाचारका प्रकरणको छानविन लगाएतका बिषयमा प्रतिपक्षी दल भएपनि सरकारको साथमा रहने उनले बताएका छन् ।


























































