काठमाडौँ – रसुवा जिल्लाको भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले एक्सपर्ट फाउन्डेशनमार्फत २० लाख रुपैयाँ सहयोग गरेको छ।
एक्सपर्ट फाउन्डेशनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै खोज तथा उद्धार र प्रभावित समुदायको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको हो।
फाउन्डेशनका अनुसार उक्त सहयोग नेपाल सरकारको समन्वयमा सञ्चालन हुने खोज तथा उद्धार, तत्काल राहत वितरण तथा दीर्घकालीन सामुदायिक पुनःस्थापनाका कार्यमा उपयोग हुनेछ।
सिड्नीमा मुख्यालय रहेको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसका ग्लोबल निर्देशक बद्री अर्यालले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताउँदै एक्सपर्ट फाउन्डेशनले आफ्नो क्षमताअनुसार सहयोग गरेको जानकारी दिए।
अर्यालले रसुवामा बाढीका कारण प्रभावित भएका परिवारप्रति गहिरो समानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। उनले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय, स्थानीय तह तथा स्वयंसेवकहरूको योगदानको समेत प्रशंसा गरे।
एक्सपर्ट फाउन्डेशनले बाढीबाट प्रभावित समुदायलाई तत्काल राहतसँगै आवश्यकताअनुसार दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
फाउन्डेशनले विपद्को समयमा गरिने सहयोग पारदर्शी र उत्तरदायी रूपमा प्रभावित नागरिकसम्म पुग्नुपर्नेमा जोड दिँदै राष्ट्रिय विपद् पुनःस्थापनाका प्रयासमा सबैले हातेमालो गर्नु पर्ने जनाएको छ। भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै एक्सपर्ट फाउन्डेशनले राहत तथा पुनःस्थापनाका लागि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।































































