काठमाडौं -चितवन प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहले वर्तमान सरकार स्पष्ट गन्तव्यका साथ अघि बढिरहेको बताउँदै सरकारको गति र कार्यशैलीप्रति आशंका नगर्न आग्रह गरेका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारलाई ‘एक्स्प्रेस गाडी’को संज्ञा दिँदै निर्धारित लक्ष्य पूरा भएपछि मात्रै रोकिने बताएका छन्। “हाम्रो सरकार एक्स्प्रेस वेमा गुडिरहेको गाडी हो। यो गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्छ, अनियन्त्रित छैन,” उनले भने।
महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले व्यक्त गरेका सुझावलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उनले अहिलेको जनादेश र जनमतलाई स्वीकार गर्न सबै राजनीतिक शक्तिलाई आग्रह गरेका छन्। रास्वपाको वैचारिक स्पष्टतामाथि अनावश्यक चिन्ता नगर्न आग्रह गर्दै उनले पार्टी विकास, सुशासन र परिणाममुखी राजनीतिमा केन्द्रित रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले रास्वपा प्रतिशोधको राजनीति नगर्ने तर सार्वजनिक सम्पत्ति र राज्यको स्रोत–साधनको दुरुपयोग गर्नेहरूमाथि कानुनअनुसार कडा कदम चाल्न सरकार पछि नहट्ने स्पष्ट पारेका छन्। उनले सरकारले कानुनी सीमाभित्र रहेर दृढतापूर्वक काम गरिरहेको उल्लेख गरेका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको अभिन्न भूभाग भएको दोहोर्याउँदै ती क्षेत्र नेपालकै भएको ऐतिहासिक र तथ्यगत प्रमाण सरकारसँग सुरक्षित रहेको बताएका छन्। सीमासम्बन्धी विषय संवाद र कूटनीतिक पहलमार्फत समाधान गरिने उनको भनाई छ।
पार्टीभित्र गुट–उपगुटको संस्कृतिलाई प्रवेश गर्न नदिन नेता तथा कार्यकर्तालाई सचेत गराउँदै उनले पुराना दलका कमजोरीबाट पाठ सिक्नुपर्ने बताएका छन्। “जनताको माया जित्ने नेता बन्नुपर्छ, समूहको होइन,” उनले भने।
प्रधानमन्त्री शाहले यही कार्यकालभित्र सुकुम्बासी समस्या र सहकारी ठगीका मुद्दा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा पुराना समस्यालाई चुनावी एजेन्डा नबनाई नयाँ उपलब्धि र नयाँ योजनासहित जनतामाझ जाने बताएका छन्।
रास्वपा सरकारमा रहेकाले मन्त्री, सांसद, पदाधिकारी, कार्यकर्ता र जनतासमेत सरकारको जिम्मेवारीमा सहभागी रहेको उल्लेख गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर देशको विकास, सुशासन र समृद्धिका लागि अघि बढ्न सबैलाई आह्वान गरेका छन्।



























































