काठमाडौं – नेपालस्थित भारतीय राजदूतावासले पोखरा महानगरपालिकासँगको सहकार्यमा १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा रंगशालामा भव्य योग प्रदर्शन कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका प्रतिनिधिहरू तथा कास्की जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा ८ हजारभन्दा बढी योग साधक तथा योगप्रेमीहरूको सहभागिता रहेको थियो। भारतीय राजदूतावासले सन् २०२३ देखि पोखरा महानगरपालिकासँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएको छ, जुन अहिले वार्षिक रूपमा आयोजना हुने प्रमुख कार्यक्रमका रूपमा स्थापित भएको छ।
यति ठूलो संख्यामा भएको सहभागिताले योगलाई जीवनशैलीका रूपमा अपनाउने प्रवृत्ति बढ्दै गएको तथा स्वस्थ जीवनप्रतिको जनचेतना विस्तार भइरहेको देखाएको छ। यसले नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध थप सुदृढ हुँदै गएको सन्देश पनि दिएको छ।



























































