काठमाडौं- सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष चन्डी राज ढकालको नेतृत्वमा एक उच्चस्तरीय प्रतिनिधिमण्डल अहिले चीनको सियानमा हर्बल औषधि उद्योगसँग सम्बन्धित विभिन्न बैठक तथा क्षेत्रीय भ्रमणमा संलग्न छ।


ADVERTISEMENT


भ्रमणका क्रममा दक्षिण एसिया र चीनबीच हर्बल औषधि, परम्परागत स्वास्थ्य सेवा, अनुसन्धान, नवप्रवर्तन तथा व्यापारिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भइरहेको छ।


ADVERTISEMENT

# # #


प्रतिनिधिमण्डलले चिनियाँ हर्बल उद्योगका प्रमुख सरोकारवालाहरूसँग औषधीय जडीबुटीको खेती, प्रशोधन, प्रविधि हस्तान्तरण तथा बजार विस्तारका अवसरबारे रणनीतिक वार्ता गरिरहेको छ।

कार्यक्रममा सीएन कम्पनीकी उपाध्यक्ष सुशनले प्रतिनिधिमण्डललाई स्वागत गर्दै कम्पनीका प्रशोधन केन्द्र तथा जडीबुटी खेती क्षेत्रको अवलोकन गराइरहेकी छन्। साथै, आधुनिक खेती प्रविधि, गुणस्तर नियन्त्रण प्रणाली र दिगो उत्पादन अभ्यासबारे जानकारी दिइँदै छ।

त्यस्तै, सार्क चेम्बरका महासचिव जुल्फिकार बटले सार्क मुलुक र चीनबीच हर्बल तथा प्राकृतिक औषधि क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको बताउँदै संस्थागत साझेदारी, संयुक्त अनुसन्धान, क्षमता विकास, प्रविधि हस्तान्तरण र व्यापार सहजीकरणमा जोड दिइरहेका छन्।

भ्रमणमा चीनका विभिन्न विज्ञ, प्राध्यापक तथा उद्योग प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ।

छलफलबाट दुवै पक्षले सहकार्य, लगानी, ज्ञान आदान–प्रदान र संयुक्त परियोजना विस्तार गर्ने अपेक्षा गरिएको छ।

यो भ्रमणले दक्षिण एसिया र चीनबीच आर्थिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ।